यस्तो छ नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा गरेको नयाँ व्यवस्था

0
Shares

नेपाल राष्ट्र बैंकले धितोमा लिने शेयरको आधारभूत सूचकांकको विश्लेषण सम्बन्धी व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत शेयर धितो कर्जा नीतिमा परिमार्जन गर्ने घोषणा गरेको केन्द्रीय बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

अब बैंकहरुले धितोको रुपमा लिने संस्थाको मुल्य आम्दानी अनुपात, प्रतिशेयर आम्दानी, पिबि भ्यालु, लाभांश इल्ड, लाभांश अनुपात जस्ता आधारभूत सूचकांकको विश्लेषण सम्बन्धी व्यवस्था गर्नुपर्नेछ ।

केन्द्रीय बैंकले पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरु, व्यवसायिक रुपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्थाहरु, विगत तीन वर्ष देखि साधारण सभा नगरेका संस्थाहरु र कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाहरुको शेयर धितोमा पनि कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गरेको छ।

राष्ट्र बैंकका अनुसार समस्याग्रस्त घोषणा भएका वा निर्देशन बमोजिम पूँजी कोष अनुपात कायम नगरेका बैंक तथा वित्तीय संस्थाहरु, नेटवर्थ ऋणात्मक भएका संस्थाहरु, सूचीकरणबाट हटाइएका संस्थाहरु तथा आर्थिक वर्ष समाप्त भएको एक वर्ष अवधि पूरा हुँदा समेत अन्तिम लेखा परीक्षण नगर्ने संस्थाहरुको शेयर धितोमा कर्जा दिन पाउने छैनन् ।

धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाहरुको शेयरको धितोमा कर्जा प्रदान गर्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाको आफ्नो कर्जा नीति/निर्देशिकामा स्पष्ट व्यवस्था भई अन्य कर्जा प्रदान गरेसरह अवलम्बन गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेको हुनुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।