नेपाल बैंकले साढे तीन अर्बको ऋणपत्र जारी गर्ने, बोर्डसँग अनुमति माग

0
Shares

नेपाल बैंक (NBL) ले तीन अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।

बैंकले १० वर्ष अवधिको ‘नेपाल बैंक ऋणपत्र २०८७’ जारी गर्न पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो । बैंकले पुस १९ गते धितोपत्र निवेदन दिएको बोर्डले जनाएको छ ।

बैंकले जारी गर्न लागेको तीन अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमध्ये ४० प्रतिशत बराबरको १४ लाख कित्ता इकाईमा सर्वसाधरणले आवेदन दिन पाउनेछन् । यसैगरी ६० प्रतिशत बराबरको २१ लाख कित्ता प्राइभेट प्लेसमेन्ट मार्फत बैंक आफैँले संघ संस्थालाई बिक्री गर्नेछ ।

बैंकले जारी गर्ने ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक ८.५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा पाउनेछन् । हाल बैंकहरुले बचतमा २ देखि ५ प्रतिशत हाराहारीम मात्र ब्याजदर प्रदान गर्दै आइरहेकाले यस बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमै ऋणपत्र निष्काशन गर्न लागेकाले बचतको तुलनामा ऋणपत्रमा लगानी गर्नेले बचतको तुलनामा बढी ब्याजदर प्राप्त गर्न सक्नेछन् ।

ऋणपत्र जारी गर्न बैंकले नबिल इन्भेष्टमेण्ट बैंकिङलाई ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा चयन गरेको छ ।

नेपाल राष्ट्र बैंकले गत कार्तिकदेखि स्थीर ब्याजदर लागू गर्दै दीर्घकालीन स्रोत परिचालनका लागि वाणिज्य बैंकहरुलाई चुक्ता पुँजीको २५ प्रतिशत बराबरको ऋणपत्र अनिवार्य जारी गर्न निर्देशन दिएको छ । यससँगै सबैजसो बैंकहरुले ऋणपत्र जारी गर्ने क्रमलाई बाक्लो बनाएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।