आयकरको पहिलो किस्ता पुस मसान्त भित्रै दाखिला गर्न सरकारको निर्देशन

आयकरको पहिलो किस्ता पुस मसान्त भित्रै दाखिला गर्न सरकारको निर्देशन

सरकारले साना तथा ठूला करदाताहरुलाई आफूले तिर्नुपर्ने आयकरको पहिलो किस्ता पुस मसान्त भित्र बुझाउन करदाताहरुलाई आग्रह गरेको छ ।

आयकर ऐन अनुसार आर्थिक वर्ष २०७७/७८ को आयकरको किस्ता रकम बुझाउने करदाताले कारोबारको अनुमानित करको विवरण र विवरणअनुसार बुझाउनु पर्ने पहिलो किस्ता वापतको ४० प्रतिशतले हुन आउने कर पुस मसान्त भित्रै बुझाउन आग्रह गर्दै आन्तरिक राजस्व विभागले सूचना जारी गरेको हो ।

कोभिड–१९ का कारण व्यपार, व्यवसाय प्रभावित भएकाले व्यवसायीहरुले कर तिर्ने समय पछाडि सार्दिन सरकारसँग माग गर्दै आएका थिए । केही समय अघि उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर व्यवसायीले तिर्ने कर समय केही पछि सार्दिन आग्रह गरेका थिए ।

तर सरकारले भने तोकिएको समयमा कर नबुझाएमा ऐनअनुसार जरिवाना, शूल्क तथा ब्याज लाग्ने चेतावनी समेत दिएको छ । सरकारले यो आर्थिक वर्षमा १० खर्ब ११ अर्ब ७५ करोड कुल राजस्व संकलनको लक्ष्य राखेकोमा हालसम्म पौने चार खर्ब राजश्व उठाइसकेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: २८ पुस २०७७, मंगलबार १३ : ४२ बजे