इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ अवधिमा मात्र खुले १ लाख डिम्याट खाता


सर्वसाधारणमा शेयरको क्रेज बढाउने किसिमले नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्राथमिक शेयर निष्काशन हुँदा १ लाख वटा नयाँ डिम्याट खाता खोलिएका छन् ।

बैंकको शेयर निष्काशन हुनु पहिलेदेखि नै निक्षेप सदस्य बैंक वित्तीय संस्था, शेयर ब्रोकर, मर्चेण्ट बैंकर लगायतका कार्यालयहरुमा डिम्याट खाता खाल्नेहरुको भिड लागेको थियो ।

माघ २ गतेदेखि इन्फ्रास्ट्रक्चर बैंकको प्राथमिक शेयर निष्काशन भएका दिनदेखि निष्काशन बन्द हुने दिन मंगलबारसम्ममा १ लाख बढी डिम्याट खाता खोलिएका छन् केन्द्रिय निक्षेप प्रणाली सिडिएससीका सूचना अधिकारी सुरेश न्यौपानेले नोटबजारसँगको कुराकानीमा भने ।

उनका अनुसार उल्लेखित सबैजसो डिम्याट खाताबाट शेयर आवेदन प्राप्त भएको छ । न्यौपानेका अनुसार यस अघि कुल २५ लाखको हाराहारीमा डिम्याट खाता खुलेकोमा अब त्यो संख्या २६ लाखभन्दा बढी भएको छ । त्यसै गरी मेरो शेयरका प्रयोगकर्ताको संख्या साढे चौध लाख हाराहारीमा रहेकोमा मंगलबार साँझसम्ममा त्यो संख्या १५ लाखभन्दा धेरै पुगेको छ ।

केन्द्रिय निक्षेप प्रणालीले मेरो शेयरबाट पर्न सक्ने अधिक आवेदनलाई ध्यानमा राख्दै प्रणालीलाई २४ घण्टा निगरानी गरेको न्यौपानेले बताए । उनका अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्राथमिक शेयरमा मंगलबार साँझसम्ममा १५ लाख २६ हजार ५२७ वटा आवेदन परेकोमा मेरो शेयरबाट मात्र १२ लाख १६ हजार ८४५ वटा आवेदन परेको छ । बाँकी आवेदन भने आस्वा सदस्य बैंक वित्तीय संस्थाबाट कागजी रुपमा प्राप्त भएको छ । यसरी प्राप्त भएका धेरै आवेदनहरु बैंक वित्तीय संस्थाबाट प्रबिष्ट हुन बाँकी रहेकाले कुल आवेदकको संख्या अझै बढ्ने बताइएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा सवा १५ लाखले गरे आवेदन, २.३९ गुणा धेरै शेयर माग

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर  युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।