मर्जरका बिषयमा कुनै छलफल र निर्णय भएको छैन : एनसीसी बैंक

0
Shares

नेपाल क्रेडिट एण्ड कर्मश (एनसीसी) बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थासँग गाभ्ने तथा गाभिने बिषयमा छलफल नभएको प्रष्टिकरण दिएको छ ।

एनसीसी बैंक नबिलबैंकसँग मर्जरमा जान लागेको हल्ला चलाएर शेयर बजारमा चलखेल गरिएपछि नेप्सेले सोधेको स्पष्टिकरणको जवाफ दिँदै एनसीसी बैंकले माघ ९ गते सम्पन्न साधारणसभाबाट प्रचलित नियम र कानुनर अनुसार बैंक गाभ्ने/गाभिने निर्णय गर्न संचालक समितिलाई अख्तियारी दिने नीतिगत प्रस्ताव मात्र पारित भएको जनाएको छ ।

उक्त साधारण सभाबाट अन्य बैंक तथा वित्तीय संस्था गाभ्ने गाभिने वा प्राप्ति गर्ने, वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा डिडिए गराउने र गाभ्ने गाभिने सम्झौता गर्न संचालकलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरिएको भएपनि मर्जर तथा प्राप्तिका सन्दर्भमा अन्य बैंक तथा वित्तीय संस्थासँग कुनै छलफल र निर्णय नभएको प्रष्ट पारेको छ ।

बैंकले शेयर मूल्यमा प्रभाव पार्ने खालको निर्णय गरेको भए तीन दिन भित्र जानकारी दिन भन्दै नेप्सेले स्पष्टिकरण सोधेको थियो।

बैंकको माघ ९ गते सम्पन्न साधारणसभाले आफु भन्दा बलियो संस्थासँग मर्जरमा जाने निर्णय गरेपछि शेयर बजारमा एनसीसी बैंकको शेयरको माग चुलीएको छ ।
आफुभन्दा बलियो संस्था भनेसँग नबिल बैंक र प्रभू बैंकसंगको अनौपचारीक छलफलको कुरा बाहिर आएपछि त्यस बारेमा जानकारी माग्दै नेप्सेले बैंकलाई पत्र काटेको हो ।

बैंकको मर्जरको कुरा बाहिर आएपछि आइतबार मात्र १० प्रतिशत अर्थात ३३ रुपौयँले शेयर मूल्य बढेको छ । सोमबार बजारको भने बिक्री चाप देखिएको छ ।
बैंकको शेयर मूल्यमा आएको आइतबारको उच्च सुधारलाई लिएर बैंक संग स्पष्टिकरण माग गरेको हो । बैंकले शेयर मूल्यमा प्रभाव पार्ने निर्णय गरेर सार्वजानिक नगरेको हुन सक्ने अनुमान नेप्सेको छ ।

अहिले बजारमा एनसीसी बैंकसँग नबिल बैंक र प्रभु बैंकको नाम चर्चामा रहेको छ । एनसीसी बैंकले प्रभू बैंकसँग गाभिन विभिन्न चरणका छलफल समेत गरिसकेको थियो । तर, प्रभु बैंकले अन्य बैंकहरुसँग पनि समान्तर रुपमा मर्जरको कुरा चलाइरहेको हुँदा कुनै औपचारिक निर्णय हुन सकेको छैन । प्रभु बैंक र एनसीसी बैंकबीच शेयर स्वापको वार्गेनिङ लामो समय चले पनि निर्णय हुन सकेन ।

प्रभु बैंकले भने एनसीसी बैंकलाई प्रतिशेयर ९० रुपैयाँसम्म दिन तयार भएपनि एनसीसी बैंकले एक बराबर एक नभए कम्तिमा पनि ९५ रुपैयाँ पाउनुपर्ने माग गर्दे आएको थियो । अनौपचारिक छलफलका आधारमा नबिलसँग एनसीसीले ४० रुपैयाँ मागिरहेको र नबिल ३० रुपैयाँ दिन तयार रहेको जानकारी बाहिर आइसकेको अवस्था छ । दुबै बैंकका अधिकारीहरुबीच मर्जरका बिषयमा अनौपचारिक छलफलहरु भने भइरहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।