नेपाल बैंक लिमिटेड को खुद नाफा स्थीर रहँदा बैंकको प्रतिशेयर आम्दानी घटेको छ । गत आवको नाफाबाट १५ प्रतिशत लाभांशमा १२ प्रतिशत बोनस शेयर वितरण गरेर चुक्ता पूँजी वृद्धि गरेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी ६.२० रुपैयाँले घटेको छ ।
गत आवको पुस मसान्तमा वार्षिक २७.५७ रुपैयाँ रहेको बैंकको इपिएस २१.३७ रुपैयाँमा झरेको हो । बुधबार सार्वजनिक भएको बैंकको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको पुस मसान्तको तुलनामा १९ लाख ७३ हजार रुपैयाँ थोरै हो ।
पुस मसान्तसम्ममा नेपाल बैंकको वितरण योग्य नाफा ६७ करोड ८२ लाख ५ हजार रुपैयाँ रहेको छ । बैंकले ६ महिनामा कमाएको यो नाफाका आधारमा बैंकले शेयरधनीलाई १०.४२ लाभांश वितरण गर्ने क्षमता राख्दछ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा १५ अर्ब ५९ करोड ३४ लाख रुपैयाँ रहँदा यस अवधिमा प्रतिशेयर नेटवर्थ २५३.१८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.१२ गुणा छ ।
बैंकको शेयरधनी कोषमा ३ अर्ब ३२ करोड ७२ लाख ७७ हजार रुपैयाँ र शेयर प्रिमियममा ४३ करोड ५९ लाख ७६ हजार रुपैयाँ सञ्चित छ । गत असारमा बैंकको जगेडा कोषमा १३ अर्ब ८५ करोड रुपैयाँ, शेयरधनी कोषमा ३ अर्ब १० करोड रुपैयाँ र शेयर प्रिमियममा १ अर्ब ७८ करोड रुपैयाँ सञ्चित थियो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ खर्ब ४८ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १६ अर्ब रुपैयाँ ६१ करोड ६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत असारसम्ममा बैंकले १ खर्ब ४१ अर्ब ५३ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३ अर्ब ३० करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
चालु आवको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९७ करोड १३ लाख रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ४ करोड ६२ लाख रुपैयाँ रहेको छ । गत आवको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ८.२० प्रतिशत र सञ्चालन नाफा १७.९६ प्रतिशतले बढेको हो ।
पुस मसान्तसम्ममा बैंकको पूँजीकोष अनुपात १६.१३ प्रतिशत, निष्क्रिय कर्जा अनुपात २.८८ प्रतिशत, निक्षेप संकलन लागत ३.५७ प्रतिशत, आधारदर ६.१९ प्रतिशत र स्प्रेडदर ४.३९ प्रतिशत छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया