काठमाडौं उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न बैंकर्स संघ सहमत


काठमाडौं उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न नेपाल बैंकर्स संघ सहमत भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र बैंकर्स संघका पदाधिकारीहरुबीच बिहीबार भएको छलफलमा यस्तो सहमति भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र बैंकर्स संघबीचको छलफलका क्रममा महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौं उपत्यका बाहिरबाट सुन वितरण नगरिँदा व्यवसायीहरुले दुःख खेप्नु परेको भन्दै यथाशीघ्र उपत्यका बाहिरका तोकिएका स्थानहरुवाट समेत सुन वितरणको ब्यवस्था मिलाउन आग्रह गरेका थिए ।

त्यसक्रममा बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहाल लगायत संघका पदाधिकारीहरुले व्यवसायीको मागप्रति आफूहरु सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन संघ तयार रहेको बताएका थिए ।

नेपाल राष्ट्र बैंकले यस अघि नै उपत्यका बाहिरबाट पनि सुन वितरणको गर्ने व्यवस्था मिलाउने विषयलाई मौद्रिक नीति मार्फत सम्बोधन गरिसकेको छ । यद्यपी सो विषय हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । जसका कारण उपत्यका बाहिरका व्यवसायी सुन खरिदका लागि काठमाडौंमा आउनुपर्ने बाध्यता कायमै छ ।

छलफलका क्रममा ब्यवसायीलाई सुन उपलब्ध गराउँदा बैंकहरुबाट हुने ढिलासुस्ती र अन्य प्राविधिक समस्यारुलाई सल्टाएर सहज रुपमा विधिसम्मत तरिकाले आआफ्नो जिम्मेवारी पूरा गर्न आफूहरु तयार रहेको बैंकर्स संघका पदाधिकारीहरुले बताएका थिए । राष्ट्र बैंकले तोकेको ब्यवस्था अनुसार बैंकर्स संघको सिफासिरमा बैंकहरुले विदेशबाट कच्चा सुन आयात गरी महासंघको सिफासिरमा व्यवसायीहरुलाई उपलब्ध गराउँदै आएका छन् ।

मोफसलका जिल्लाहरुबाट सुन वितरण गर्दा ढुवानी खर्च मात्रै काठमाडौंको भन्दा बढी लिने, मोफसलका जिल्लाहरुमा पनि सुनको स्टक राख्ने, बैंकहरु अनुसार फरक रहेको दरभाउमा एकरुपता ल्याउने, सुन खरिद गर्न बैंकहरुले सहज वातावरण बनाउने र सुनको कोटा वृद्धि गरी पर्याप्त मात्रामा आपूर्तिको व्यवस्था मिलाउन दुवै पक्षले पहल गर्ने लगायतका विषयमा पनि छलफल भएको थियो ।

अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।