एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै एनबि ग्रुप


पछिल्लो समय विवादमा धेरै तानिँदै आएको एनबि ग्रुपले एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

ग्रुपले विभिन्न कम्पनीको नाममा रहेको २५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्न एनसीसी बैंकलाई भने अनुरुप शेयर बिक्रीको सूचना सार्वजनिक भएको छ । ग्रुपले विभिन्न ६ वटा संस्थाका नाममा रहेका शेयरमध्ये २५ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।

ग्रुपबाट शेयर बिक्री गर्ने निर्णय सहित आएका कागजातका आधारमा बैंकले संस्थापक शेयर बिक्री गर्ने प्रकृया अघि बढाएको छ ।

कम्तीमा १४० रुपैंया प्रतिकित्ताको दरले कम्तीमा एक हजार कित्ता शेयर खरिदका लागि लिलामीमा आवेदन दिनु पर्ने हुन्छ । आगामी फागुन २ गतेदेखि ७ कार्यदिनसम्म आवेदन दिने समय तोकिएको छ । बैंकको उक्त शेयर बिक्रीको काम सनराइज क्यापिटलले गर्नेछ ।

एनबि ग्रुप नेपाल प्रालि, सांग्रिला इन्भेष्टमेन्ट प्रालि, एनबि इन्भेष्टमेन्ट प्रालि, मानाङ्क इन्भेष्टमेन्ट, दोलखा भीमसेन इन्भेष्टमेन्ट र हिमालयन क्यापिटलको स्वामित्वमा रहेको शेयर बिक्री गर्न लागिएको हो ।
केही दिन अघि मात्र एनसीसी बैंकले १०.२७ प्रतिशतले हुने ९६ लाख ५ हजार ९९७ कित्ता शेयर सूचीकरण गरेको थियो । एनबि ग्रुपले उक्त बोनस वापतको शेयर बिक्री गर्न लागेको देखिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।