स्वदेशी उद्योग संरक्षण गर्न महासंघको प्रतिनिधिमण्डलको उद्योग विभागका महानिर्देशकलाई आग्रह


नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति भरतराज आचार्यको नेतृत्वमा गएको समितिका सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलले उद्योग विभागका महानिर्देशक जीवलाल भुषाललाई उद्योग क्षेत्रका समस्या समाधानका लागि आग्रह गरेको छ ।

उद्योग विभागमा महानिर्देशकसँग भेट गरी प्रतिनिधि मण्डलले उद्योग क्षेत्रमा आपसी सहकार्यका विषयमा छलफल गरेको हो । सो अवसरमा सभापति आचार्यले महासंघको उद्योग समितिका कार्य क्षेत्र एवं समितिका आगामी कार्ययोजना वारे जानकारी गराएका थिए ।

भेटवार्तामा महासंघका तर्पmबाट कोभिड प्रभावित उद्योगहरूलाई पुनरउत्थान र पुनसंचालनका लागि नीतिगत एवं कार्यगत संंरक्षणको आवश्यकता परेकाले त्यसको कार्यन्वयनका लागि सहजिकरण गरिनु पर्ने, उद्योगको लागि आवश्यक जग्गा प्राप्तिलाई सहज गरिनु पर्ने लगायत विषयमा छलफल भएको थियो ।

एकल बिन्दु सेवाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, स्वदेशी उद्योगको संरक्षण गर्न सार्वजनिक खरिद नियमावलीको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने, उद्योगका लागि आवश्यक पूर्वाधारहरूको सरल र भरपर्दो व्यवस्था हुनु पर्ने, जनशक्ति विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन र सहयोग गर्नु पर्ने, औद्योगिक व्यवसाय ऐन कार्यान्वयन गर्ने सम्बन्धमा देखापरेका व्यवहारिक एवं संस्थागत कठिनाईहरूका बारेमा उद्योग बिभाग र महासंघका बीच कार्यदल गठन गरी सुझाव संकलन गर्ने तथा उद्योग क्षेत्रको संख्यात्मक एवं गुणात्मक अध्ययन गर्न आवश्यक रहेकाले त्यसका लागि आपसी सहकार्य गर्ने लगायतका सुझाव राखिएको थियो ।

सो अवरसरमा उद्योग विभागका महानिर्देशक भुषालले महासंघसँग नजिकमा रहेर कार्य गर्न विभाग तयार रहेको र महासंघले उठाएका विषयलाई संवोधन गर्दै जाने विश्वास दिलाएका थिए । साथै महानिदेशक भुषालले एकल विन्दू सेवालाई प्रभावकारी बनाउन छाता ऐन आवश्यक भएकाले महासंघबाट अर्थपूर्ण सहयोगको अपेक्षा गरेको बताएका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।