शिवम् सिमेन्टले व्यापार घट्दा पनि बढायो नाफा, बैंक ब्याजदरले राहत

0
Shares

शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १६ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीको बिक्री आम्दानी घटेपनि अन्य खर्चहरु नियन्त्रणमा आउँदा नाफा बढेको हो । साथै बैंक ब्याजदर घट्दाको लाभले पनि कम्पनीको नाफा बढाउन टेवा पुगेको छ ।

शिवमले चालु आवको पुस मसान्तसम्ममा ५८ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १६.१३ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीले उत्पादन बिक्री गरेर ४ अर्ब २५ करोड ५९ लाख आम्दानी गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ९.३६ प्रतिशत कम हो । गत आवको यसै अवधिमा कम्पनीले उत्पादन बिक्री मार्फत ४ अर्ब ६९ करोड ५६ लाख आम्दानी गरेको थियो ।

कम्पनीले विभिन्न कम्पनीहरुमा ३ अर्ब ६६ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीको ऋण रकम ९४ करोड छ । कम्पनीले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कुल खर्च ९ करोड ४२ लाख घटाएको छ । यसले पनि नाफामा सुधार आएको हो। यस्तै बैंक ब्याजदर घटेकाले पनि कम्पनीले केही राहत पाएको छ । जसको ब्याज खर्च ८३ प्रतिशतले घटेको छ । ब्याजदर घट्दा ७ करोड ७३ लाख रुपैयाँ जोगिएको छ ।

४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडाकोषमा ४ अर्ब ५६ करोड रुपैयाँ छ । चुक्ता पूँजी यथावत रहेको कम्पनीको जगेडाकोषको रकम ४.४६ प्रतिशतले बढेको हो ।

खुद नाफा बढेपछि कम्पनीको प्रतिशेयर आम्दानीमा सुधार आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा २३ रुपैयाँ ८ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ८० पैसामा पुगेको छ।

कम्पनीको प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ८३ पैसा, मूल्य आम्दानी अनुपात ६१.९३ गुणा कायम भएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।