सुनको कारोबारमा ‘क्युआर कोड’ भुक्तानी कार्यान्वायन गर्न गभर्नर अधिकारीको आग्रह


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वदेशी श्रम र शीपलाई प्रवद्र्धन गर्न आग्रह गरेका छन् ।

नेपालको ठूलो जनशक्ति रोजगारीका लागि विदेश पलायन हुनुपरेको विद्यमान अवस्थामा पनि नेपालमा कयौं क्षेत्रमा अझै पनि विदेशी कालिगढको वाहुल्यता रहेको उल्लेख गर्दै गर्भनर अधिकारीले स्वदेशमा नै पर्याप्त तालिमको ब्यवस्था गरी रोजगारी प्रवद्र्धन गर्न सकीने बताएका छन् ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधीमण्डलसँग बुधबार भएको छलफलमा गभर्नर अधिकारीले सुनचाँदीको क्षेत्रमा काम गर्नका लागि पर्याप्त मात्रामा स्वदेशी कालिगढ उत्पादन गर्न र विदेशी कालिगढलाई विस्थापित गर्न सुझाव दिएका हुन् । स्वदेशी कालिगढ उत्पादनका लागि आवश्यक पर्ने शीप विकास तालिमका लागि राष्ट्र बैंकले समेत सहयोग गर्ने प्रतिवद्धता उनले जनाए ।

तथ्याङक अनुसार नेपालको सुनचाँदी क्षेत्रमा मात्रै झण्डै ७० हजार विदेशी कालिगढले काम गर्दै आएका छन् । जसवाट ठूलो धनराशी विदेशीँदै आएको छ ।

व्यवसायीसँगको छलफलका क्रममा गभर्नर अधिकारीले भुक्तानीमा डिजिटल प्रणाली ‘क्युआर कोड’ लागु गर्न समेत जोड दिए । अहिलेको डिजिटल युगमा परम्परागत शैली प्रयोग गर्नु आफैंमा अव्यवहारिक भएको उल्लेख गर्दै सुनचाँदी व्यवसायमा हुने भुक्तानी प्रणालीलाई पनि तत्काल डिजिटल प्रणालीमा परिमार्जन गर्न अधिकारीले व्यवसायीसँग आग्रह गरेका थिए । ‘सुनचाँदीको ठुलो रकमको कारोबार हुने गरेको भए पनि अझै सम्म परम्परागत प्रविधि अनुरुप नै कारोबार हुने गरेको छ,’ उनले भने, ‘समय सापेक्ष रुपमा कारोबार प्रणालीमा परिमार्जन ल्याउन आवश्यक छ ।’

सुनचाँदी ब्यवसायीले अगाडि सारेका मागहरुबारे आफू सकारात्मक रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले संभव भएसम्म माग पुरा गराउन राष्ट्र बैंक तयार रहेको बताएका थिए । सुनको आपूर्ति विदेशी मुद्राको संञ्चितिसँग सम्वन्धित रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले बजारको माग अनुरुप त्यसलाई ब्यवस्थापन गर्न राष्ट्र बैंक सकारात्मक रहेको बताएका थिए ।

तोकिएका नाकाहरुवाट पनि सरल र सहजरुपमा सुन वितरणको व्यवस्था मिलाउन, १५ दिन अगावै सिफारिस विना नै सुन विक्री गर्ने गरिएको भए त्यसलाई नियन्त्रण गर्न, आपूर्तीमा लागु हुँदै आएको कोटाको सिमा पुनरावलोकन गर्न र व्यवसायीले उठाएका अन्य जायज मागहरुको सम्वोधन गर्न राष्ट्र बैंक तयार रहेको गभर्नर अधिकारीको भनाई थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले ब्यवसाय सञ्चालनका दौरानमा आइपरेका समस्याका सम्बन्धमा जानकारी गराउँदै समाधानका लागि पहल गर्न आग्रह गरेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।