एक खर्ब ३७ करोड सहुलियतपूर्ण कर्जा प्रवाह, ८७ अर्ब ८७ करोड पुनरकर्जा स्वीकृत

0
Shares

नेपाल राष्ट्र बैंकले २०७७ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको एक खर्ब ३७ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जामा लगानी भएको जनाएको छ ।

चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २०७७ पुस मसान्तसम्ममा ६० हजार ८७९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको जानकारी दिए ।

उनका अनुसार पुसमसान्तसम्म प्रवाह भएको सहुलियतपूर्ण कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३३ हजार ८१७ ऋणीलाई ७६ अर्ब ५९ करोड कर्जा प्रवाह भएको छ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २७ हजार ६२ ऋणीलाई २३ अर्ब ७७ करोड कर्जा बक्यौता रहेको अधिकारीले बताए ।

राष्ट्र बैंकले उद्यमशीलताको विकास, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा परिमार्जन सहित सहुलियतपूर्ण कर्जा कार्यान्वयनमा ल्याएको थियो ।

साथै कोभिड–१९ ले प्रभावित पेशा, उद्योग र व्यवसायलाई संरक्षण गर्नुको साथै कृषि र साना तथा मझौला र घरेलु व्यवसायलाई सहुलियत दिने उद्देश्यले पुनरसंरचना गरिएको पुनरकर्जाको नयाँ व्यवस्थाबाट २०७७ माघ मसान्तमा ८७ अर्ब ८७ करोड पुनरकर्जा स्वीकृति भएको पनि राष्ट्र बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।