शेयरधितो कर्जाको सीमा यथावत, घरजग्गा र अटोलोनमा पनि भएन परिमार्जन


नेपाल राष्ट्र बैंकले शेयर, घरजग्गा तथा सवारी साधनको कर्जा सीमामा गरिएको साविकको व्यवस्थालाई निरन्तरता दिएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिले गरेको व्यवस्थालाई निरन्तरता दिएको हो । जस अनुसार शेयरधितो कर्जाको सीमा ७० प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत केन्द्रीय बैंकले शेयर धितो ऋणको सीमा ६५ प्रतिशतबाट ७० प्रतिशत पुर्याउने व्यवस्था गरेको थियो । उक्त व्यवस्थालाई चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका दौरान पुनरावलोकन गरिने उल्लेख गरिए पनि आवश्यक्ता ठानेन । अर्धवार्षिक समीक्षाका क्रममा पनि उक्त सीमामा कुनै परिमार्जन नगरिएको हो ।

शेयरधितो कर्जामा पुनरावलोकन हुने हल्ला चलेपछि आइतबार शेयर बजारमा तीब्र गिरावट देखिएको थियो । तर केन्द्रीय बैंकले शेयरधितो कर्जामा गरिएको विद्यमान व्यवस्थामा कुनै संशोधन नगरेको हो ।

१८० दिनको शेयर मूल्यको अन्तिम मूल्यका आधारमा दिइने ऋण १२० दिनको अन्तिम मूल्यमा दिइने नीति राष्ट्र बैंकले लिएको छ । साथै शेयर कर्जा प्रति ग्राहक बढिमा ५० लाखसम्म मात्र लिन पाइने व्यवस्था छ ।

यसका साथै घरजग्गा कर्जा, सवारी साधन कर्जामा पनि अर्धवार्षिक समीक्षामा कुनै परिमार्जन नगरी साविकको व्यवस्थालाई नै निरन्तरता दिइएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।