बैंकहरुमा १३ अर्ब निक्षेप थपिँदा १८ अर्ब कर्जा, अनुत्पादक क्षेत्र फस्टायो

0
Shares

कोरोना कारण प्रभावित भएको आर्थिक क्षेत्रले गति लिएसंगै बैंकहरुमा कर्जाको माग बढ्न थालेको छ । पछिल्लो समय बैंक वित्तीय संस्थामा बढेको कर्जाको माग उत्पादन भन्दा पनि अनुत्पादक क्षेत्रमा धेरै रहेको बैंकरहरु बताउछन् ।

पछिल्ला दिनहरुमा आयातमा आएको वृद्धि र शेयर तथा घरजग्गाको कारोबारमा आएको उत्साहले बैंकहरुमा कर्जाको माग बढेको हो । कोरोनाका कारण अन्य क्षेत्रको कर्जा ठप्प भएको समयमा समेत घरजग्गा, ओभरड्राफ्ट तथा मार्जिक प्रकृतिका व्यक्तिगत कर्जाको माग उल्लेख्य बढेको थियो ।

कोरोनाका कारण आयात घट्ने र निर्यात बढ्ने अवस्थामा थियो । अतिआवश्यक वस्तु भन्दा अन्य वस्तु आयात गर्ने अवस्था थिएन । त्यसले गर्दा पनि बैंकहरुमा कर्जाको माग व्यक्तिगत प्रकृतिमा सिमित थियो । तर, पछिल्ला दिनहरुमा व्यापार व्यावसायहरुमा आएको गतिका कारण बैंकहरुमा कर्जाको माग पनि आउन थालेको हो 

चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो सात महिनामा ८ खर्ब बढीको आयात भएको छ । सात महिनाको (साउनदेखि माघ मसान्तसम्म) तथ्याङ्क अनुसार आठ खर्ब तीन अर्ब ६४ करोड बढीको आयात भएको छ ।

कोरोनाका कारण आर्थिक गतिविधि ठप्प सरह भएपछि बैंकहरुमा पैसा थुप्रिएको थियो । बैंकिङ प्रणालीमा निक्षेप थपिने, कर्जा रोकिने हुदाँ अधिक तरलताको समस्या देखियो । अधिक तरलताका कारण बैंकहरुले निक्षेपमा दिन ब्याजदर घटाएपछि बैंकहरुबाट निक्षेपमा राखिएको पैसा समेत बाहिरिन थालेको थियो ।

बैंकहरुमा निक्षेपमा राख्न न्यून प्रतिफल आउने भएपछि निक्षेपकर्ताले अधिक प्रतिफलका लागि शेयर बजार र घरजग्गा तर्फ पैसा सिफ्ट गरेको अनुमान गर्न थालिएको छ ।

बैंकहरुमा अधिकतम तरलाताको समस्या अझै पनि सामान्य हुन सकेको छैन । नेपाल राष्ट्र बैंकका अुनसार अझै पनि वित्तीय प्रणालीमा ८० अर्ब भन्दा धेरै तरलता रहेको छ । तर, पनि चालु आर्थिक वर्षको फागुन महिनाको पहिलो सातामा बैंकहरुले १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

फागुन ७ गतेसम्ममा वाणिज्य बैंकहरुले ३७ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छन् । यो अवधिमा बैंकहरुले ३३ अर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।