निफ्राको कारोबार चापले नेप्सेको कारोबार प्रणालीमा समस्या, निफ्राको कारोबार स्थगित


निफ्रको शेयर बिक्रीका लागि एउटै मूल्यमा आएको अधिक कारोबार चापले नेप्सेको अनलाइन कारोबार प्रणालीमा समस्या आएको छ । एउटा कम्पनीको शेयर कारोबारमा आएको समस्याले समग्र कारोबार प्रणालीमा नै समस्या आएको भन्दै केही समयका लागि निफ्राको शेयर कारोबार स्थगित गर्दै अरु कम्पनीको शेयर कारोबार सुचारु गराइएको छ ।

नेपाल स्टक एक्सचेञ्का अनुसार अहिले प्रणालीमा आएको समस्या समाधानका लागि वाइको र नेप्सेले गृहकार्य गरिरहेका छन् ।

उता वाइकोले पनि प्रणालीमा समस्या आए पनि समस्याको ठोस पहिचान भइनसकेको जनाएको छ । उसका अनुसार ५६४ रुपैंयामा निफ्राको शेयरमा धेरै बिक्री चाप आएकाले कारोबार क्यू बढेपछि समस्या आएको अनुमान गरिएको छ । सबै क्यू हटाएर कारोबार खुलाउने प्रयास भए पनि त्यसले समस्या समाधान हुने नहुने निक्र्यौल नभएकाले थप केही हुन सकिरहेको छैन ।

केही समय सबै कम्पनीको कारोबार प्रणालीमा समस्या आएको भए पनि निफ्राको कारोबार अर्डरहरु प्रणालीबाट अलग गराएर अरु कम्पनीको कारोबार सुचारु गराइएको वाइकोले जनाएको छ । उसका अनुसार अरु कम्पनीको शेयर कारोबारमा अब कुनै समस्या हुने छैन ।

बजार चलिरहेका बेला अचानक गलत तथ्यांकहरु देखिन थाले पछि लगानीकर्ता अन्यौलमा परेका थिए । बजार सूचक, कम्पनीको शेयर मूल्य, खरिद बिक्री आदेश मूल्य लगायत सबै तथ्यांकमा समस्या आएकाले निफ्राको कारोबार केही समयका लागि स्थगन गरिएको र समस्या समाधान हुना साथ कारोबार सुचारु गराउने बताइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।