ज्योति लाइफको आईपीओ फागुन २३ गतेदेखि बिक्रीमा आउने

ज्योति लाइफको आईपीओ फागुन २३ गतेदेखि बिक्रीमा आउने

ज्योति लाइफ इन्स्योरेन्स (JLICL) ले यहि फागुन २३ गते देखि फागुन २८ गतेसम्म सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।

ज्योति लाइफले प्रतिशेयर एक सय रुपैयाँ अंकित बराबरको ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशनमा ल्याउन लागेको हो ।

निष्काशनमा आउने कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषका इकाइहरुलाई र सोही बराबरको शेयर इन्स्योरेन्सका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ ।

सामूहिक लगानी कोषका इकाइ र कर्मचारीहरुलाई सुरक्षित गरि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा आउनेछ । यस आईपीओमा लगानीकर्ताले धितोपत्र बोर्डबाट सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र सिडिएससीको मेरोशेयरको वेवसाइट तथा मोबाइल एप मार्फत पनि आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

उक्त आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले ‘केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । उक्त रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँडपछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १४ फागुन २०७७, शुक्रबार ०९ : १३ बजे