शेयर लगानीकर्ताका नेता भन्छन्:- ‘प्रोफिट बुकिङ्ग र अनावश्यक हल्लाले बजार उच्च घट्यो’

0
Shares

शेयर बजारमा संगठित भई पूँजीबजारमा लगानी गर्दै आएका लगानीकर्ता संगठनका नेताहरुले उच्च अंकले वृद्धि भई उच्चतम बिन्दुमा पुगेको शेयर बजारबाट नाफा सुरक्षित र राजनैतीनक अस्थीरता तथा ब्याजदर बढ्ने हल्ला चलाएर बजार घटाउने काम भएको बताएका छन् ।

सबल र राम्रा कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले घट्दो मूल्यमा शेयर बिक्री गनुृपर्ने अवस्था नरहेकाले आगामी दिनमा पुनः बजारले गति लिने आशा उनीहरुले व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमका सभापति तथा नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिकाप्रसाद पौडेलले सामाजिक सञ्जालमा आइतबार बिहानै स्ट्याटस लेख्दै आगोमा राप र शेयर बजारमा ताप (तनाव) सधै रहने बताउँदै यसलाई स्वीकार गरी अघि बढ्नुपर्ने धारण व्यक्त गरेका छन् ।

उनले थप भनेका छन् ‘पुँजी बजारमा धैर्यता गुमायौं भने सँगै ठूलो धन पनि गुमाउँछौं । गन्तब्य धेरै माथि छ । धैर्य लगानीकर्ता बनौं ।’

नोटबजारसँगको कुराकानीमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छाटेलाल रौनियारले केही सीमित व्यक्तिहरुले राजनैतिक अस्थीरता बढ्ने तथा बैंक ब्याज बढ्ने समाचारहरु सञ्चार माध्यममा चलाएर बजार घटाएको बताए ।

केही दिनयता सञ्चार माध्यममा बैंकिङ्ग प्रणालीमा तलरला कम हुँदै गइरहेकोले ब्याजदर बढ्ने समाचार प्रवाह गर्दै घट्दो मूल्यमा शेयर उठाउन सक्रिय समुहका कारण बजारमा उच्च अंकको गिरावट आएको बताए ।

उनले भने ‘बजारमा अहिले पनि अधिक तरलता भएर राष्ट्र बैंकले रिभर्स रिपो मार्फत निक्षेप संकलन गरिरहेको र कोडिको असर तल्काल कम भई हाल्ने अवस्था छैन । दोस्रो त्रैमाससम्म पौने प्रतिशतसम्म घटाएर ब्याजदर दिएका बैंकहरुको एक दुई प्रतिशत ब्याजदर बढेपनि शेयर बजारमा त्यसको खासै प्रभाव पर्दैन ।’

अर्कोतर्फ पार्टी विभाजनको संघारमा पुगको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समुह आन्दोलनबाट संसद पुगेकाले जसको सरकार बनेपनि आगामी दुई वर्षसम्म स्थीर सरकार बन्ने भएकाले पूँजीबजारमा राम्रै हुने हुनाले लगानीकर्ता डराउनुपर्ने अवस्था नरहेको रौनियारले बताए ।

अहिलेसम्म शेयर बजार लगातार बढेकाले अब बजार घट्न सक्छ भन्ने आंकलन लगानीकर्तामा रहेकाले पनि अझै घट्न सक्ने आंकलन गर्दै सबैले शेयर बिक्री गर्दा आइतबार उच्च गिरावट आएको उनले बताए ।

प्रोफिट बुकिङ्गका कारण करेक्शन आउनु सामान्य भएको बताउँदै उनले केही करेक्शन आएपनि बजार अहिले पनि बजार बुलिस ट्रेण्डमा नै रहेको र लगानीकर्ताको हौसला धेरै नै रहेकाले केही दिनभित्रै बजारले लय समात्ने उनले बताए ।

उता शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल शेयर पनि बजारमा घटबढ हुनु निरन्तर हुने प्रकृया भएको बताउँदै एकैदिन सेलिङ्ग प्रेसर आउँदैमा प्यानिक हुने अवस्था नरहेको बताउँछन् ।

आइतबारको बजार घटाइबारे प्रतिक्रियामा अर्याल कतिपय स्क्रिप्टहरुमा पाँच दश दिनमा नै २०-३० प्रतिशतसम्म नाफा भएकाले त्यस्ता कम्पनीहरुबाट नाफा सुरक्षित गर्दा पनि बजारमा करेक्शन आएको बताउँछन् ।

हाल अस्थीर राजनीतक अवस्था रहेकाले अब बजार कता जान्छ भन्ने अन्यौल रहेकाले ठूला खेलाडीहरुले सेलिङ्ग प्रसेर बढाएकाले पनि नेप्सेमा उच्च अंकको गिरावट आएको हुनसक्ने उनले बताए । यद्यपी अहिले पनि ८ अर्बभन्दा माथिको शेयर कारोबार भैरहेकाले बजारमा स्वच्छ प्रतिस्पर्धा रहेकाले बैंकिङ्ग क्रिप्टहरु अझै पनि अण्डरभ्यालु रहेकाले लगानीकर्ताहरुले सेक्टर सिफ्न गर्न खोज्दा पनि बजार घटेको उनको आंकलन छ ।

लगानीकर्ताले आफुले कम्पनी खरीद गर्दा कस्तो कम्पनीको शेयर खरीद गर्दैछु भन्ने जानकारी राखेर सबल वित्तीय अवस्था रहेको कम्पनीको शेयरमा लगानी गरे त्यसको मूल्यमा आउने उतारचढावका कारणले डराउनुनपर्ने उनले बताए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

 

प्रकाशित मिति: १६ फागुन २०७७, आइतबार  १७ : १० बजे