सुनको आपूर्ति बढाउन उद्योगमन्त्रीको प्रतिबद्धता


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने बताएका छन् । सुनचाँदी ब्यवसायीहरुको आग्रहपछि मन्त्री भट्टले समस्या समधानका लागि पहल गर्ने आश्वासन दिएका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा बिहिबार गएको सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधीसंग मन्त्री भट्टले बजारमा देखिएको सुनको अभावबारे आफू पनि जानकार रहेको बताएका हुन् ।

बजारको आवश्यक अनुसार कच्चा सुन आपूर्ति नभए त्यसले कालोबजारीलाई समेत प्रोत्साहन गर्न सक्नेतर्फ सचेत रहनुपर्ने मन्त्री भट्टले औंल्याए ।

महासंघका अध्यक्ष शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न मन्त्री भट्टसँग आग्रह गरेका थिए । उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको जानकारी गराएका थिए । अहिले बजारमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने उनको माग रहेको छ ।

पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।