सांग्रिला डेभलपमेन्ट बैंकले चैत २३ गते डाक्यो साधारण सभा

सांग्रिला डेभलपमेन्ट बैंकले चैत २३ गते डाक्यो साधारण सभा

सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले चैत २३ गते सोह्रौँ वार्षिक साधारण सभा डाकेको छ । गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्तावित लाभांश अनुमोदन र मर्जर तथा प्राप्तीको मुख्य एजेण्डा सभामा रहेको छ ।

चैत १ गते सम्पन्न सञ्चालक समितिको बैठकले लैनचौर ब्याङ्क्वेट, लैनचौरमा बिहान १० बजे आह्वान गरिएको साधारण सभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनाका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँ रहेको छ । बोनसपछि २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँ पुग्नेछ ।

यसैगरी सांग्रिला डेभलपमेन्ट बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने वा एक आपसमा गाभ्ने।गाभिने प्रयोजनका लागि उपयुक्त बैंक वा वित्तीय संस्थाको पहिचान र छनोट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ती गर्ने लगायतका कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा रहेको छ ।

यसका साथै बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आव २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरूमाथि छलफल गरी पारित हुने जनाइएको छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले चैत्र १० गतेदेखि चैत्र २३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार चैत्र ९ गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम हुन आउने शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २ चैत २०७७, सोमबार ०९ : २३ बजे