महिला लघुवित्त र ग्रीन लाइफको कतिमा भयो शेयर कारोबार ?


साधारण शेयर निष्काशन गरेर मंगलबार कारोबारमा आएका महिला लघुवित्त र ग्रीन लाइफ हाइड्रोको स्पेशल प्रि ओपनिङमा शेयर कारोबार भएको छ ।

नेप्सेमा ग्रीन लाइफको पहिलो शेयर कारोबार अधिकतम रेञ्जमा भएको छ । जस अनुसार नेप्सेले तोकेको २९९ रुपैंया प्रतिकित्ताको दरमा ग्रीनलाइफको पहिलो शेयर जीएलएच संकेतमा कारोबार भएको हो ।

प्रि ओपनिङमा ग्रीन लाइफको ३२० कित्ता शेयर कारोबार भएको छ ।

ग्रीन लाइफ हाइड्रोपावरको आव २०७६।७७ को वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ ९९.६७ रुपैयाँ रहेको छ । यस आधारमा नेप्सेले कम्पनीलाई न्यूनतम ९९.६७ रुपैयाँदेखि अधिकतम २९९.०१ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो । 

उता महिला लघुवित्तको भने अधिकतम रेञ्जमा शेयर कारोबार हुन सकेन । महिला लघुवित्तको पहिलो शेयर कारेबार ४३८ रुपैंया प्रतिकित्ताको दरमा भएको छ । एमएलबीएसएल संकेतमा महिला लघुवित्तको शेयर कारोबार भएको हो । महिला लघुवित्तको १० कित्ता मात्र शेयर कारेबार भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण अनुसार महिला लघुवित्तको प्रतिशेयर नेटवर्थ ३१३.१६ रुपैयाँ छ । जसको आधारमा नेप्सेले कम्पनीलाई न्यूनतम ३१३.१६ रुपैयाँदेखि अधिकतम ९३९.४८ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

नेप्सेले कम्पनीको सुरुवाती कारोबारको लागि प्रतिशेयर नेटवर्थलाई न्यूनतम र प्रतिशेयर नेटवर्थको ३ गुणासम्म अधिकतम रेञ्ज तोक्ने गरेको छ । 

नेपाल स्टक एक्सचेञ्ज र महिला लघुवित्तबीच सोमबारदेखि धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार चैत १ गते सोमबार सूचीकरण गरिएको हो । कम्पनीको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६ लाख कित्ता संसथापक र ४ लाख कित्ता साधारण गरी कुल १० लाख कित्ता शेयर सूचीकृत भएको हो ।

लघुवित्तले नेपाल एसबिआई क्यापिटल मार्फत प्रतिशेयर मूल्य १०० रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर माघ ३० गतेदेखि फागुन ५ गतेसम्म जारी गरी फागुन १४ गते शुक्रबार बिहान बाँडफाँड गरेको थियो । उक्त आईपीओ कुल आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ता हात पारेका थिए ।

कुल ४ लाख कित्ता शेयर निष्काशन गरिएकोमा लघुवित्तका १५३ जना कर्मचारीलाई ५ हजार कित्ता र सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँड गरिएको थियो । बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

मंगलबार प्रि ओपनिङ्ग सेसन कारोबारमा नेप्से परिसूचक १०.८६ अंकले बढेर २४००.०४ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक २.६२ अंकले बढेर ४३२.६८ बिन्दुमा पुगेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।