राष्ट्र बैंक सुन आयात कोटा बढाउन तयार, दैनिक माग ३० किलो


नेपाल राष्ट्र बैंकले सुन आयत कोटा बढाउने भएको छ । बजारमा सुनको अभाव बढेपछि आयात कोटा वृद्धि गर्न राष्ट्र बैंक तयार भएको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरु सँग बुधबार भएको भेटका क्रममा राष्ट्र बैंकका बरिष्ट डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक रहेको बताइन् । उनले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भैरहेको जनाउँदै केही दिन भित्रै यस बिषयमा निर्णय हुने बताइन् ।

सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधमिण्डलसँगको भेटका क्रममा अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रले बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै माग र आपूर्तिको बीचमा सन्तुलन ल्याउन आपूर्ति बढाउन राष्ट्र बैंकले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यस क्रममा विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलले कोटा वृद्धिका लागि आवश्यक प्रकृया अगाडि बढाउने प्रतिबद्धता जनाए । सोही विभागका उप प्रमुख गुरु प्रसाद पौडेलले ब्यवासायीको माग शीघ्र सम्बोधन हुने बताए ।

त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न राष्ट्र बैंकका पदाधिकारीहरु समक्ष आग्रह गरेका थिए । उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उललेख गरे ।

अहिले बजारमा दैनिक ३० किलो सम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने आवश्यकता उनले औंल्याए । आवश्यकता अनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको उनको भनाई छ ।

पछिलल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।