उतारचढावसँगै बजारमा करेक्सन, नाफा सुरक्षित गर्नेहरु भए हाबी


साताको अन्तिम दिन बिहीबार शेयर बजारमा गिरावट आएको छ । पछिल्ला दिनमा सकरात्मक देखिएको बजारमा अल्पकालीन नाफा सुरक्षित गर्नेहरु बढेसँगै सुचकमा गिरावट आएको हो ।

बिहीबार समग्र बजार परिसुचक नेप्से २१.२९ अंकले घटेर २५४८.९६ अंकमा ओर्लिएको छ । यस क्रममा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.४६ अंकले घटेर ४५०.३१ अंकमा आईपुगेको छ ।

बिहीबार वाणिज्य बैंकहरुको शेयर मूल्यमा आएको गिरावटले समग्र बजारलाई तल झार्न टेवा दिएको हो ।

वाणिज्य बैंक समुहमा मात्र बिहीबार १९.६७ अंकले घटेको छ । जलविद्युत समुह ४४ अंकले घटेको बजारमा निर्जीवन बीमा समुहमा ५४ अंकको गिरावट आएको छ । विकास बैंक, वित्त, उत्पादन, अन्य, लघुवित्त, सामुहिक लगानी कोषका सूचक पनि घटेको बजारमा जीवन बीमा समुहको सुचकमा सबैभन्दा धेरै अर्थात १६९ अंकको गिरावट आएको छ ।

व्यपार, होटल र लगानी समुहका सुचक मात्र झिनो अंकले उकालो लागेका छन् । २०८ कम्पनीको शेयर कारोबार भएको बजारमा १ करोड २५ लाख ४८ हजार १४६ कित्ता शेयरहरु ७४ हजार ६५८ पटक किनबेच हुँदा ६ अर्ब ५० करोड रुपैंयाको कारोबार भएको छ ।

बिहीबार १२९ कम्पनीको शेयर मूल्य घटेको बजारमा ३७ कम्पनीको मात्र शेयरमूल्य बढेको छ भने १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । चन्द्रागिरी हिल्स, सपोर्ट लघुवित्त, वोमी लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स, माउण्टेन हाइड्रो लगायत कम्पनीको शेयर मूल्य धेरै बढेको बजारमा बंगलादेश बैंकको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । एनआईबिएल प्रगती फण्ड, हिमालयन उर्जा, सान्जेन, रसुवागढी हाइड्रो लगायत कम्पनीको शेयर मूल्य पनि धेरै घट्नेको सूचीमा छ ।

शेयर मूल्य बढ्दो अवस्थामा रहेको निफ्राको अधिक कारोबार हुँदा शेयर मूल्य पनि झण्डै ५ प्रतिशतले बढेको छ । लगातार बढेर शेयर मूल्य घट्न थालेको अप्पर तामाकोशी हाइड्रो पनि अधिक शेयर कारोबार भएको छ । त्यसै गरी नेपाल बंगलादेश बैंक, सिद्धार्थ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स लगायत कम्पनीको पनि धेरै शेयर कारोबार भएको छ ।

मर्जरको हल्ला चलाएर उचाईमा पुगेको बैंगलादेश बैंकको शेयर मूल्य गिरावटसँगै धेरै शेयर कारोबार भएको हो । पछिल्ल दिनमा सबल बैंकहरुसँग नाम जोडेर मर्जरको हल्ला चलाउँदै शेयर मूल्य बढाएर बिक्री गर्ने चलन बढिरहेको छ । यसले आम लगानीकर्ता भने जोखिममा परिरहेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।