नेप्सेका सीईओको विदाले ज्योति लाइफको शेयर सूचीकरणमा ढिलाई

0
Shares

ज्योति लाइफको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरणमा ढिलाइ भएको छ । कम्पनीले शेयर सूचीकरणका लागि आवश्यक सम्पूर्ण कागजात पूरा गरेपनि नेप्सेका सीईओ चन्द्रसिंह साउद विदामा रहेका कारण सूचीकरण प्रभावित भएको हो ।

नेप्से स्रोतले दिएको जानकारी अनुसार ज्योति लाइफको सूचीकरणको सबै काम सकिएको छ, सीईओ विदा रहेका कारण सूचीकरणमा ढिलाई हो । सीईओ कार्यालयमा आएपछि सूचीकरण हुने जनाइएको छ ।

“सीईओ विदामा भएका कारण सूचीकरणमा ढिलाई भएको हो । उहाँ भोलि आउनु भयो भने भोलि सूचीकरण हुन्छ, नभए बुधबार मात्रै हुन्छ ।” नेप्से स्रोतले भन्यो ।

शेयर सूचीकरण सम्झौतामा नेप्सेका प्रमुख कार्यकारी अधिकृत र शेयर निष्काशन गर्ने कम्पनीका प्रतिनिधिबीच सूचीकरण सम्झौता गर्नुपर्ने हुन्छ । एक पक्ष विदामा बस्दा अर्को पक्ष तयार भएपनि सूचीकरण सम्भव हुँदैन ।  इन्स्योरेन्सको शेयर चैत २२ गते आइतबारदेखि शेयर कारोबार हुने आंकलन भएपनि नेप्सेका सीईओ नै विदामा रहेका कारण प्रकृया नटुङ्गिएको हो ।

ज्योति लाइफले फागुन २१ गतेदेखि २६ गतेसम्म कुल ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ३ लाख ३० हजार कित्ता १२ वटा सामुहिक लगानी कोषका इकाईलाई र ३ लाख ३० हजार कित्ता शेयर ज्योति लाइफमा कार्यरत ३१४ जना कर्मचारीलाई सुरक्षित गरी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो । उक्त शेयर गोलाप्रथाबाट ५ लाख ९४ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । कम्पनीको शेयर चैत १३ गते शुक्रबार बाँडफाँड भएको थियो ।

कम्पनीको शेयर सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले शुक्रबार नै शेयर पाउने लगानीकर्ताको डिम्याट खातामा पठाइसकेको छ । ज्योति लाइफको शेयर कारोबारका लागि जेएलआई कारोबार संकेत प्रदान गरिएको छ । कम्पनीको शेयर यहि कारोबार संकेतमा खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ चैत २०७७, सोमबार  १३ : १३ बजे