टीएमएसमा समस्या आउँदा लगानीकर्तालाई सास्ती, दर्जन ब्रोकरका लगानीकर्ता कारोबारबाट बञ्चित


नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड नेप्सेको अनलाइन कारोबार प्रणाली (टीएमएस) मा समस्या आएको छ । प्रणालीमा आएको समस्याका कारण ५० मध्ये दर्जन बढी ब्रोकरबाट कारोबार गर्दै आएका लगानीकर्ताले शेयर किनबेच गर्न सकिरहेका छैनन् । सोमबार बजार खुले पछि केही ब्रोकरहरुको प्रणाली नचल्दा लगानीकर्ताले ब्रोकरहरुलाई फोन गरेर गुनासो गर्ने क्रम तिब्र भएको छ ।

शेयर ब्रोकरहरुले डाटा हब र वाइको बिचको तालमेल नमिलेको आरोप लगाएका छन् । सोमबार बजार खुले पछि शेयर ब्रोकरहरु १, १०, ४७, १४, १८, ४१, ५६ र २५ मा धेरै समस्या देखिएको छ । त्यसै गरी शेयर ब्रोकरहरु २९, ३५, ५९ र ३९ का लगानीकर्ताले पनि शेयर कारोबारमा समस्या झेलिरहेका छन् ।

बजारमा सेलिङ प्रेसर आउना साथ प्रणालीमा समस्या आउने गरेको आरोप लगानीकर्ताहरुको छ । एक लगानीकर्ताले जानेर बुझेर नै प्रणालीमा समस्या निम्त्याउने गरिएको आरोप लगाए ।

उता नोटबजारले समस्याका सम्बन्धमा ब्रोकरहरुसँग खोजी गर्दा अर्डर प्लेसिङ गर्न समस्या हुने, अर्डर बुक लोड नहुने, मार्केट डेफ्थ लोड नहुने, अर्डर क्लिक गरेको ५ सेकेण्डभन्दा लामो समयसम्म कुनै प्रतिकृया नआउने लगायतका समस्या बढे पछि लगानीकर्ताबाट धेरै फोन आउन थालेको छ । ग्राफ र बजारको तथ्यांकमा पहिलेदेखि नै समस्या रहेको बताएका उनीहरुले मेरो शेयर र टीएमएस व्यालेन्स फरक पर्ने पहिलेको समस्या पनि जस्ताको त्यस्तै रहेको बताए ।

यस सम्बन्धमा नेप्सेले ब्रोकरको सर्भर क्षमताभन्दा बढी संख्यामा प्रयोगकर्ता प्रणालीमा लग इन भएको हुन सक्ने जनाएको छ । नोटबजारसँग कुरा गर्दै नेप्सेका आईटी प्रमुख निरञ्जनसिंह नायकले ब्रोकरतर्फको कारोबार प्रणाली रिस्टार्ट गर्दा केही समस्या देखिएको हुन सक्ने र यस अवधिमा लगानीकर्ताले सहज रुपमा टीएमएस लगइन गर्न नसकेको बताए । यसका साथै क्लाइन्टको इन्टरनेटको समस्या हुन सक्ने बताएका उनले ब्रोकरको डिएनएको समस्याका कारण पनि सोमबार आंशिक ब्रोकरहरुमा समस्या आएको हुन सक्ने बताए । धेरै प्रयोगकर्ता एकै पटक प्रणालीमा लगइन भएको अवस्थामा ब्रोकरको सर्भर क्षमताले धान्न नसक्दा पनि यस्तो समस्या आउन सक्ने उनको भनाई छ ।

“धेरै प्रयोगकर्ता लग इन हुँदा खपत हुने डाटा र ब्रोकरको सर्भरको क्षमताको तालमेल नमिल्दा हुन सक्ने समस्या सोमबार देखिएको हुन सक्छ” नायकले भने ।
टीएमएसमा देखिने समस्या निराकरण गर्नका लागि बनाइएको भाइबार ग्रुपमा ब्रोकर, वाइको र नेप्सेका प्रतिनिधिका बिचमा समस्याका सम्बन्धमा सम्वाद भईरहे पनि समस्या समाधान हुन नसकेको एक ब्रोकरले बताए । हालको कारोबार प्रणालीको विकल्पमा छिटोभन्दा छिटो अर्को कारोबार प्रणाली सञ्चालनमा ल्याउनु् पर्ने बताए ।

उता वाइको प्रालिले पनि केही ब्रोकरहरुको प्रणाली सुस्त भएको देखिएकाले समस्या पहिचानको काम भईरहेको बताएको छ । वाइकोका प्रमुख कार्यकारी अधिकृत दिपेश प्रधानले डेटा सेन्टरमा समस्या भए नभएको जाँच्ने काम भईरहेको बताए । केही ब्रोकरमा साविकको तुलनामा धेरै लगानीकर्तालेले सिष्टम लग इन गरेका कारण प्रणाली सुस्त भएको हुन सक्ने उनको भनाई छ ।

सोमबार समस्या देखिएका मध्ये पनि रिसोर्स सेयरिङ गरेका ब्रोकहरको हकमा धेरै समस्या देखिएको बताएका उनले नेटवर्क लेभलदेखि समग्र प्रणालीमा समस्या देखिएको हो । सेयरिङमा नरहेका ब्रोकरको समस्या तत्काल समाधान हुने भए पनि सेयरिङ गरेका ब्रोकरको हकमा भने ढिला हुने उनले बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।