कतारी रियाल बैशाख २७ गतेसम्म साटी सक्नुपर्ने, समयमै ख्याल गरौं भारु जस्तो नहोस्

0
Shares

नेपालमा बैशाख २७ गतेपछि कतारी रियाल नोटहरु सटही नहुने भएको छ । कतारी केन्द्रीय बैंकले पाँचौ संस्करणका नयाँ बैंक नोटहरु प्रयोगमा ल्याउन चौथो संस्करणका नोट चलन चल्तीबाट हटाउन खोजेकाले पुराना रियाल सटही नहुने भएका हुन् ।

कतारको केन्द्रीय बैंकले पाचौ संस्करणका नोट बजारमा पठाउन सुरु नै गरिसकेको छ । कतारी केन्द्रीय बैंकले पुराना लिइ नयाँ दिने काम सुरु गरेपछि नेपाल राष्ट्र बैंकले पनि त्यसलाई समयमा नै विशेष ध्यान दिएको छ । कतारी केन्द्रीय बैंकले चलनचल्तीबाट हटाउने भनेका नोट नेपालमा पनि हुनसक्ने भएकाले केही समय सीमा राखी सटही सुविधा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

नेपालीहरुको प्रमूख श्रम गन्तब्यको रुपमा रहेको कतारको मुद्रा नेपालमा पनि हुनसक्ने भएकाले समयमा नै पुराना नोट सम्बन्धित बैंकलाई दिई नयाँ ल्याउने प्रक्रियामा लागेको राष्ट्र बैंक विदेशी विनिमय विभागका निर्देशक गुरुप्रसाद पौडेलले बताए । नेपालीहरुसंग भएको कतारी रियाल उठाएर कतारी केन्द्रीय बैंकसंगको समन्वयमा सो रकम साट्ने उनले बताए ।

“हाल साढे ६ लाख भन्दा धेरै नेपाली कतारमा रोजगारीका लागि गएको अवस्था छ ,” उनले भने,“ धेरै श्रमीक जाने/आउने मुलक भएकाले नेपालीले केही मात्रामा रियाल नै राखेको भए त्यसलाइ २० दिनभित्र साट्नुपर्छ ।” नेपालभरी राष्ट्र बैंक बैंकिङ कार्यालय तथा प्रादेशिक कार्यालय, वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनी तथा मनि चेन्जर मार्फत साट्न सकिने जानकारी उनले दिए ।

सन २०१६ भारत सरकारले नोटबन्दी गर्यो । चलन चल्तीमा रहेका ठुला दरका भारतीय नोटहरु खारेज भएपनि नेपालमा रहेका त्यस्ता नोट साटिएनन् । जसले गर्दा अर्बौ रुपैयाँ कागजको खोष्टा बनेको तितो यथार्थ ताजा नै छ । भारत सरकारले ५ सय र एक हजारका बैंक नोट खारेज गर्ने निर्णयले धेरै नेपालीले आफ्नो पसिनालाई कागजको खोष्टाको रुपमा परिवर्तन गरेर बस्नु परेको छ । यस विषयमा सरकारले समेत पहल गरेको भएपनि हलसम्म पनि कुनै समाधान आउन सकेको छैन ।

भारतको जस्तै कतारको पनि चलन चल्तीबाट हटेका नोट पुन कारोबारमा आउन नसक्ने भएकाले सम्पुर्ण नेपालीहरुले मेहनेत गरेर कमाएको रियल बैंशाख २७ गतेसम्म साटिसक्न पौडेलको अनुरोध छ । नेपालमा भारतीय रियाल कति छ भन्ने अनुमान गर्न नसकिने बताउदै उनले भने,“कति छ भन्दा पनि कतारमा आउने जाने नेपाली धेरै भएकाले कतारी रियाल नेपालीका घरहरुमा हुनसक्ने देखिएपछि सटहीका लागि आवश्यक प्रक्रिया सुरु गरेको हो ।”

नेपाल राष्ट्र बैंकले आगामी दिनमा नेपाल आउने नेपालीले नयाँ अर्थात पाचौ संस्करणको रियाल ल्याउने बताउदै पौडेलले भने,“ बैंशाख २७ सम्म पनि नसाटी रियाल राख्ने नेपालीका लागि त्यो नोट नभई कागजको रुपमा परिणत हुनेछ ।” त्यसैले आफुसंग भएको कतारी रियाल प्रयोगबाट बाहिरन अगावै सटही गर्न उनले सुझाए । सो समय पछि कतारी नोटहरु सटही गर्न राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र मनिचेञ्जरहरु बाध्य नहुने समेत राष्ट्र बैंकले स्पष्ट पारेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।