नेपाल बैंकले बैशाख २२ गतेदेखि साढे ३ अर्बको ऋणपत्र जारी गर्ने

0
Shares

नेपाल बैंक लिमिटेड (NBL) ले बैशाख २२ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । 

बैंकले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

ऋणपत्र खरीद गर्न इच्छुक लगानीकर्ताले बैशाख २६ गतेसम्ममा आवेदन दिन सक्नेछन् भने उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा जेठ ५ गतेसम्म बिक्री खुला रहनेछ ।

ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

बैंकले निष्काशन गर्ने ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र-२०८७’ को अवधि दश वर्ष रहेको छ ।

निष्काशनमा आउने ३५ लाख कित्ता ऋणपत्रमध्ये १४ लाख कित्ता (सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको १५ हजार कित्ता सहित) सर्वसाधारणलाई बिक्रीमा आउनेछ भने २१ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र खरीदका लागि मेरो शेयरको मोबाइल एप तथा वेवसाइट तथा धितोपत्र बोर्डबाट आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले बैंकको ऋणपत्रलाई इक्रा एनपी आईआर सिङ्गल ए ग्रेडिङ्ग प्रदान गरेको छ । यस रेटिङ प्राप्त संस्थाले समयमा नै वित्तीय दायित्व पूरा गर्ने तथा कर्जा जोखिम न्यून रहेको संकेत गर्दछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० वैशाख २०७८, शुक्रबार  १० : २७ बजे