गत वर्ष झण्डै १६ करोड मानिसमा भोकमरिको समस्याः राष्ट्र संघ


संयुक्त राष्ट्रसंघले सन् २०२० मा विश्वभरका झण्डै १६ करोड मानिसले गम्भीर भोकमरिको सामना गर्नु परेको जनाएको छ । राष्ट्रसंघ समेतका १६ संस्थाले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा पनि उस्तै वा त्योभन्दा खराब परिस्थिति देखिने उल्लेख छ ।

उक्त प्रतिवेदनले ९७ प्रतिशत मानवीय सहायता पाइरहेका ५५ मुलुकलाई केन्द्रित गरेको राष्ट्रसंघको भनाई छ । प्रतिवेदनले गत वर्ष उत्पन्न खाद्य सङ्कटको आकार र कठिनाई खासगरी दिर्घकालीक द्वन्द्व, कोभिड–१९ महामारीका कारण सिर्जित आर्थिक मन्दि र मौसमी प्रतिकूलताले उत्पन्न भएको औंल्याएको छ ।

सन् २०१९ मा करिब २ करोड मानिसले खाद्य सङ्कट व्यहोर्नु परे पनि सन् २०२१ मा झण्डै १६ करोड मानिसले सङ्कट, आपतकाल वा भोकमरिको सामना गर्नु परेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार, भयानक सङ्कटबाट गुज्रिरहेका विश्वका १० वटा मुलुकका झण्डै दुई तिहाई जनताले चरम खाद्य सङ्कट झेलेका छन् जसमा कङ्गो, यमन, अफगानिस्तान, सिरिया, सुडान, उत्तरी नाइजेरिया, इथियोपिया, साउथ सुडान, जिम्बाबे र हैटी रहेका छन् । बुर्किना फासो, साउथ सुडान र यमनका करिब एक लाख ३३ हजार मानिसले भोकमरिबाट अतिशय पीडामा छन् ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ३०७ पृष्ठको “ग्लोबल रिपोर्ट अन फूड क्राइसिस” अर्थात विश्वको खाद्य सङ्कट प्रतिवेदनको भूमिका लेख्दै भनेका छन्, “चरम खाद्य असुरक्षा सामना गरिरहेका र खाद्यान्न, पोषण र जीविकोपार्जनको अति जरुरी परेका मानिसको संख्या बढ्दो क्रममा छ ।”

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।