काठमाडौं । नेपाली पावरलिफ्टिङ क्षेत्रमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडी मनोज श्रेष्ठलाई शिवम् सिमेन्टले आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सहकार्य गर्ने भएको छ।
सन् २०१७ देखि पावरलिफ्टिङमा सक्रिय श्रेष्ठले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदकसहित उल्लेखनीय सफलता हासिल गर्दै आएका छन्। गत वर्ष सम्पन्न अन्तर्राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका उनले प्रतियोगिताका क्रममा स्क्वाट तथा डेडलिफ्ट विधामा उच्च तौल उठाउँदै प्रभावशाली प्रदर्शन गरेका थिए।
नेपालको झण्डा बोकेर अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्दै आएका श्रेष्ठले आफ्नो खेल यात्रामार्फत अनुशासन, आत्मविश्वास र निरन्तर मेहनतको उदाहरण प्रस्तुत गरेका छन्। सन् २०१७ देखि २०२५ सम्मको अवधिमा उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै उल्लेखनीय उपलब्धि हासिल गरेका छन्।
उनका प्रमुख उपलब्धिहरूमा अन्तर्राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण पदक, नेशनल पावरलिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण पदक, पहिलो भ्याली लेभल ओपन पावरलिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण पदक तथा बेन्च प्रेस र डेडलिफ्ट विधाका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन समावेश छन्। उनले नेपाल नेसनल रेकर्ड तथा विभिन्न तौल समूहका प्रतियोगितामा समेत आफ्नो क्षमता प्रमाणित गर्दै आएका छन्।
श्रेष्ठको निरन्तर मेहनत, अनुशासन र खेलप्रतिको समर्पणको सम्मान गर्दै शिवम् सिमेन्टले आगामी खेल यात्रालाई थप सहज र सफल बनाउन सहकार्य गर्न लागेको जनाएको छ। गुणस्तर र मजबुतीलाई आफ्नो पहिचान बनाउँदै आएको कम्पनीले श्रेष्ठको शक्ति, आत्मविश्वास र दृढतालाई आफ्नो ब्रान्डको मजबुतीसँग जोडेर हेरेको बताएको छ।
शिवम् सिमेन्टले यसअघि पनि भलिबल, फुटबल, क्रिकेट, म्याराथनलगायत विभिन्न खेलकुद गतिविधिमा सक्रिय सहभागिता जनाउँदै नेपाली खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउँदै आएको छ। खेलकुदमार्फत युवामा ऊर्जा, अनुशासन र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यसहित कम्पनीले खेलाडी तथा खेल क्षेत्रलाई निरन्तर सहयोग गर्दै आएको जनाएको छ ।
