कोरोनासँग लड्न गोल्छा समुहद्वारा एक करोडको सहयोग


गोल्छा समुहले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक करोड रुपैयाँ सहयोगग गरेको छ । समहुले कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउनका लागि उक्त रकम प्रदान गरेको हो ।

गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगललाई सो रकम सोमबार हस्तान्तरण गरेका हुन । कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पताल मार्फत कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै आफ्नो सेवाबाट थुप्रै संक्रमितको जिवन रक्षा गर्न सफल भएको थियो ।

अस्पतालले सधैँ उत्कृष्ट कार्य गरेकोले दोश्रो लहरले झनै आक्रान्त बनाएको असहज परिस्थितिसँग जुध्न सहज होस् भन्ने हेतुले गोल्छा समुहले उक्त सहयोग प्रदान गरेको जनाएको छ । गोल्छा समुहद्धारा प्रदान गरिएको सहयोग रकमलाई अस्पतालले अक्सिजन व्यवस्थापन गर्न, उपकरणहरुको अभावलाई पूर्ति गर्न, स्वास्थ्यकर्मीहरुद्वारा दिइने सेवा सहज बनाउन र बिरामीलाई आवश्यक पर्ने बेडहरुको संख्या बढाउने लगायत कोरोनाको संक्रमणसँग जुध्ने आवश्यक पर्ने अन्य कार्यमा खर्च गर्ने जनाएको छ ।

गोल्छा समुहका अध्यक्ष शेखर गोल्छाले सहयोग हस्तान्तरण गर्दै अहिले देश एकदमै विषम परिस्थितिबाट गुज्रिरहेको र कोरोनाको यो दोस्रो लहरले हामी सबैलाई अफ्ठ्यारोमा पारेको बताए । भविष्यमा पनि यस सहकार्यलाई निरन्तरता दिने समेत उनले बताए ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगलले गोल्छा समुहले विषम परिस्थितिमा आवश्यक उपकरण र सेवा सहज बनाउन गरेको यो सहयोग अत्यन्तै समय सापेक्ष भएको बताए । यो सहयोगले फ्रन्टलाइन स्वास्थ्यकर्मीको मनोबल बढाउने उनको भनाई छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।