नौं अर्बको ऋणपत्र बिक्री गर्न तीन वाणिज्य बैंकले मागे बोर्डको अनुमति


तीन वाणिज्य बैंकले नौं अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नका लागि पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् ।

बोर्डका अनुसार कृषि विकास बैंक, लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकले गरी कुल ९ अर्ब रुपैयाँ बराबराको ९० लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति माग गर्दै बोर्डमा निवेदन दिएका हुन् ।

ऋणपत्र जारी गर्न अनुमतिका मागेकामध्ये कृषि विकास बैंकले ४ अर्ब, माच्छापुच्छ्रे बैंकले ३ अर्ब र लक्ष्मी बैंकले २ अर्बको ऋणपत्र बिक्रीका लागि अनुमति मागेका छन् ।

कृषि विकास बैंक (ADBL) ले ४ प्रतिशत व्याजदरमा ८ र ९ वर्ष अवधिको लागि एग्रिकल्चर बण्ड नामक ऋणपत्र निष्काशन गर्नका लागि वैैशाख १३ गते निवेदन दिएको हो ।

बैंकले जारी गर्न लागेको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता एग्रिकल्चर बन्ड मध्ये १६ लाख कित्ता सर्वसाधारणका लागि र २४ लाख कित्ता विभिन्न संघ संस्थालाई बिक्रीमा आउनेछ ।

यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा एनआईबिएल क्यापिटललाई दिइएको छ ।

त्यस्तै माछापुच्छ्रे बैंक (MBL) ले पनि ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशनका लागि बैशाख १५ गते बोर्डमा निवेदन दिएको छ ।
उक्त बैंकले १२ लाख कित्ता सर्वसाधारणको लागि बिक्री गर्नेछ भने १८ लाख कित्ता व्यक्तिगत तबरबाट विभिन्न संघ संस्था तथा व्यक्तिलाई बिक्री गर्नेछ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङग लिमिटेड रहेको छ ।

यसैगरी लक्ष्मी बैंक (LBL) ले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशनको लागि अनुमति माग्दै बैशाख ६ गते निवेदन दिएको छ ।

जारी हुने ऋणपत्रको ८ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् भने बाँकी १२ लाख कित्ता बैंक आफैँले विभिन्न संघ संस्था तथा व्यक्तिलाई बिक्री गर्नेछ ।

यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

ऋणपत्र बिक्रीबाट प्राप्त हुने रकम शतप्रतिशत कर्जा लगानीमा उपयोग गर्न पाइने र कर्जा लगानीका लागि स्थीर ब्याजदरमा लामो समयका लागि स्रोत जुट्ने भएपछि बैंकहरुले पछिल्लो समय ऋणपत्र बिक्रीलाई प्राथमिकतामा राख्न थालेका हुन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ बैशाख २०७८, बुधबार १३ : ११ बजे