जलविद्युत र बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढ्यो

0
Shares

शेयर बजारमा मंगलबार जलविद्युत र बीमा कम्पनीको शेयरतर्फ लगानीकर्ताको आकर्षण बढेको छ । केही दिन पहिला विकास बैंक र फाइनान्स कम्पनीको शेयर खरीदमा आकर्षण बढाएका लगानीकर्ताहरुले मंगलबारको बजारमा जलविद्युत र बीमा कम्पनीको शेयर खरीद गरेका हुन् ।

आकर्षण बढेसँगै उच्च शेयरमूल्य बढ्ने र कारोबारका आधारमा शीर्ष कारोबार हुने दुबैतर्फ जलविद्युत र बीमा कम्पनी अगाडि रहेका छन् । फोर्टफोलियो चेञ्ज गर्ने क्रममा लगानीकर्ताहरु विकास बैंक र फाइनान्सपछि जलविद्युत र बीमा कम्पनीमा फर्किएका हुन् । केही दिनयता बैंकिङ्ग इक्डेक्सतर्फ लगानीकर्ता आकर्षित हुन नसकिरहेका अवस्थामा मंगलबार बैंकिङ्ग इन्डेक्समा थप गिरावट आएको छ ।

आजको बजारमा जलविद्युत, जीवन तथा निर्जीवन बीमाको इन्डेक्स २ प्रतिशतले बढेको छ । कारोबारमा आएका ६ समुहको सूचक सकारात्मक रहेको यस दिनको बजारसमा ७ वटा समुहको इन्डेक्स राताम्मे रह्यो । जसमध्ये विकास बैंक, बैंकिङ्ग, अन्य, लगानीको इन्डेक्स १ प्रतिशत धेरैले घटेको छ ।

पछिल्लो समय एकपछि अर्को समुहको शेयर खरीद गरी पोर्टफोलियो चेञ्ज गर्ने प्रवृत्ति देखिएको छ । एक समुहको शेयरमूल्य बढेपछि त्यसबाट नाफा सुरक्षित गरी अर्को समुहमा प्रवेश गर्ने गरेका छन् । जसले लगानीकर्ता प्रवेश हुँदा उक्त समुह केही दिन एउटा बढ्ने र नाफा सुरक्षित गरी बाहिरिँदा घट्ने गरेको छ । निषेधाज्ञाको समयमा पुराना लगानीकर्ताहरुले सामाजिक सञ्जाल मार्फत समुह खडा गरी कुनैपनि स्क्रिप्ट एउटा लेबलसम्म बढाएर नाफा सुरक्षित गर्ने प्रवृत्ति हाबी हुँदा नयाँ लगानीकर्ताहरुले अझ शेयरमूल्य बढ्ने आशमा शेयर खरीद गर्दा जोखिम बढेको छ ।

मंगलबार पनि ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०८ रुपैयाँको शेयर कारोबार भएको छ । सोमबार १३ अर्ब १७ करोडको शेयर कारोबारमा आएकोमा अघिल्लो दिनको तुुलनामा कारोबार रकम २ अर्ब ४ करोडले घटेको हो । यद्यपी १० अर्ब माथिको कारोबार हुनुले भने बजार समानान्तर गतिमा अगाडि बढ्न खोजेको संकेत गर्दछ ।

कोरोना संक्रमणको दोस्रो लहरका कारण लगानीका अन्य क्षेत्र संकुचन हुँदा ठूला कारोबारीको लगानी र बैंक तथा वित्तीय संस्थाले समेत संस्थागत लगानीकर्ताको रुपमा शेयर बजारमा लगानी बढाएपछि शेयर बजारमा कारोबार भने उच्च हुँदै आएको छ ।

मंगलबार २१९ कम्पनीका २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता शेयर १ लाख १२ हजार १४८ संख्यामा कारोबार भएको छ । नेप्से सूचकमा ६.५० अंकको सामान्य गिरावट देखिँदा २ हजार ८१६.५६ अंकमा बन्द भएको छ ।

 

अरुण काबेली पावरको सर्वाधिक कारोबार

यसदिन अरुण काबेली पावरको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ८ लाख २५ हजार ६८७ कित्ता शेयर ३३ करोड ८३ लाख ३७ हजार रुपैयाँमा खरीद बिक्री भएका छन् ।

यसैगरी एशियन लाइफको ३३ करोड ७ लाख, एचआईडिसीएल ३० करोड ३४ लाख, सूर्या लाइफ २९ करोड १७ लाख, नेशनल लाइफको २७ करोड ८५ लाख, गुराँस लाइफ २६ करोड १८ लाख, युनाइटेड इन्स्योरेन्स २४ करोड ४७ लाख, पुनर्बीमा कम्पनी २३ करोड ९३ लाख, आइएमई जनरल इन्स्योेरेन्स २० करोड ५६ लाख र प्राइम लाइफको १९ करोड ६० लाखको शेयर कारोबारमा आएको छ ।

चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, मल्टिपपर्स फाइनान्सका शेयरधनीले धेरै गुमाए

मंगलबार बरुण हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, युनिभर्सल पावर र घलेम्दी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरी दिब्यश्वरी हाइड्रोपावर, साधना लघुवित्त, र आँखुखोला हाइड्रोपावरको ८ प्रतिशत बढी र अरुण काबेली, गुराँस लाइफ इन्स्योरेन्स र राधी विद्युत कम्पनीको शेयरमूल्य ७ प्रतिशत धेरैले बढेको छ ।

उता यसदिन यसदिन मल्टिपपर्स फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ३.२२ प्रतिशतले गुमाउँदा मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, साग्रिला डेभलपमेन्ट बैंक, सेञ्चुरी कमर्सियल बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, एचआईडिसीएल, लुपम्बिनी विकास बैंक, जानकी फाइनान्स र सिभिल बैंकको मूल्य २ प्रतिशत धेरैले घटेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।