शेयर बजारमा ऐतिहासिक रेकर्डः एकैदिन पौने १५ अर्बको शेयर कारोबार

0
Shares

शेयर बजारमा जेठ १३ गते बिहीबार कारोबार रकममा नयाँ ऐतिहासिक रेकर्ड कायम भएको छ ।

बिहीबारको बजारमा हालसम्मकै उच्च अर्थात पौने १५ अर्बमाथि कारोबार हुँदै रेकर्ड कायम भएको हो । बिहीबार कारोबार भएको शेयर संख्या र कित्ता पनि हालसम्मकै उच्च हो ।

सामान्य अंकले नेप्से घटेको यसदिनको बजारमा नेप्सेमा २१५ कम्पनीका ४ करोड १८ लाख ३ हजार ९९४ कित्ता शेयर १ लाख ४७ लाख ४९३ वटा संख्यामा भएको कारोबारबाट १४ अर्ब ७६ करोड ८७ लाख २१ हजार ४३ रुपैयाँको शेयर खरीद बिक्री भएको हो ।

यसअघि सोमबार मात्रै १३ अर्ब १७ करोडको शेयर कारोबार भई रेकर्ड कायम भएकोमा बिहीबार उक्त रेकर्ड समेत तोडिएको छ । 

यसदिन नेप्से १.२० अंकले घटेर २ हजार ८१५ दशमलव ३९ बिन्दुमा अडिएको छ । कारोबारमा आएका १३ समुहका सूचकमध्ये ब्यापार, जलविद्युत, विकास बैंक, र वित्तको सूचक सर्वाधिक बढेका छन् । यी सूचकहरु क्रमशः ६.७२, ४.५७, ३.४३ र २.२८ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । यस्तै निर्जीवन बीमा, उत्पादन, र म्युचुअल फण्डको सूचक पनि सामान्य रुपमा सकारात्मक बनेको छ ।

यसदिन राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई लघुवित्तको शेयर खरीद गर्न रोक लगाएपछि त्यसको असर लघुवित्तको सूचकमा परेको छ । जसका कारण बिहीबार लघुवित्तको सूचक सर्वाधिक ३.४१ प्रतिशतले घटेर बन्द भएको छ भने गुमाउने कम्पनीमा अधिकांश लघुवित्त कम्पनीहरु अटाएका छन् । अन्यको सूचक पनि १ प्रतिशत धेरैले घट्दा बैंकिङ्ग, होटल तथा टुरिजम्, जीवन बीमा र लगानी समुहको इन्डेक्स पनि ऋणात्मक रह्यो ।

मौद्रिक नीतिको असरः बैंकहरुलाई शेयर खरीदमा गरेको बन्देजले लघुवित्तको शेयरमूल्यमा पहिरो

यसदिन अपि पावर कम्पनीको शेयर सबैभन्दा धेरै ४२ करोड २८ लाख रुपैयाँमा खरीद बिक्री भएको छ । यस्तै अरुण काबेली पावरको ३७ करोड ७४ लाख, चिलिमे ३७ करोड ३ लाख, युनाइटेड मोदी हाइड्रोपावर ३५ करोड ५४ लाख, पुनर्बीमा कम्पनी ३० करोड ५१ लाख, सानिमा माइ हाइड्रो २९ करोड ७४ लाख, नेशनल हाइड्रो २७ करोड ११ लाख, बुटवल पावर २५ करोड ९१ लाख, अरुण भ्याली हाइड्रोपावर २५ करोड २० लाख, र छिमेक लघुवित्तको २२ करोड १४ लाखको शेयर कारोबारमा आएको छ ।

यसदिन २० कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने समता लघुवित्त र मेरो माइक्रोफाइनान्सको शेयरमूल्य ५ प्रतिशत धेरैले घटेको छ ।

जारी निषेधाज्ञाका बीच बैंक तथा वित्तीय संस्थाहरुको लगानी क्षेत्र खुम्चिँदा शेयर बजारमा गुल्जार छाएको हो । संस्थागत लगानीकर्ता र ब्यापारिक समुहको लगानी पनि शेयर बजारमा केन्द्रीत हुँदा बजारमा दिनप्रतिदिन नयाँ नयाँ रेकर्ड कायम हुन थालेको छ ।

चालु आवको चौथोे त्रैमासिक अवधिमा सरकारी खर्च गर्ने क्रम बढ्दै जाने र लगानीका क्षेत्रमा आएको संकुचनले तरलता बढ्दा शेयर बजारमा थप उचाई कायम हुने आंकलन गर्न थालिएको छ । केही बैंकहरुले सस्तो ब्याजदरमा शेयर कर्जाको विज्ञापन समेत प्रकाशन गर्न थालेका छन् । अर्कोतर्फ मुलुक निर्वाचनमा जाने घोषणा र अध्यादेश मार्फत आउन लागेको बजेट मार्फत पनि पूँजीबजारलाई राजश्व संकलनको आधार बनाउने अनुमानकाबीच बजारले उकालो गति लिएको जानकारहरु बताउँछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।