एकैदिन १७ अर्बको शेयर कारोबार,कारोबारमा नयाँ रकेर्ड

0
Shares

शेयर बजारमा जेठ १६ गते आइतबार एकैदिन १७ अर्ब बढीको शेयर कारोबार भएको छ । यो रकमका आधारमा शेयर बजारमा एकैदिन कारोबारभएको हालस्म्मकै उच्च कारोबार रकम हो ।

यसअघि जेठ १३ गते बिहीबार एकैदिन १४ अर्ब ७६ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार हुँदै रेकर्ड कायम भएको थियो ।

आइतबार १७३ कम्पनीका ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर १ लाख ७३ हजार ५३७ वटा संख्यामा भएको कारोबारबाट १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४५ रुपैयाँको शेयर कारोबार भएको हो ।

जारी निषेधाज्ञाका बीच बैंक तथा वित्तीय संस्थाहरुको लगानी क्षेत्र खुम्चिँदा शेयर बजारबाट ऋण लिएर पनि शेयर बजारमा लगानी गर्ने क्रम बढ्दो छ । सानिमा लगायत केही बैंकहरुले लगानीका क्षेत्र खुम्चिएपछि सस्तो ब्याजदरमा शेयर कर्जा उपलब्ध गराउने विज्ञापन समेत प्रकाशन गर्न थालेका छन् ।

संस्थागत लगानीकर्ता र ब्यापारिक समुहको लगानी पनि शेयर बजारमा लगानी केन्द्रिकृत हुँदा बजारमा दिनप्रतिदिन नयाँ नयाँ रेकर्ड कायम हुन थालेको छ ।

चालु आवको चौथोे त्रैमासिक अवधिमा सरकारी खर्च गर्ने क्रम बढ्दै जाने र लगानीका क्षेत्रमा आएको संकुचनले तरलता बढ्दा शेयर बजारमा थप उचाई कायम हुने आंकलन गर्न थालिएको छ ।

अर्कोतर्फ मुलुक निर्वाचनमा जाने घोषणा र अध्यादेश मार्फत शनिबार आएको बजेट मार्फत उर्जा क्षेत्रका लागि राहत कार्यक्रम आउँदा पूँजीबजारमा गुल्जार छाएको हो । बजेट मार्फत अल्पकालीन लगानीकर्ताका लागि पूँजीगत लाभकर बढाएर ७.५ प्रतिशत पुर्याएपनि त्यसको असर आइतबारको बजारमा देखिएन । सरकारले एक वर्षभन्दा धेरै अवधिमा लाग्ने पूँजीगत लाभकर ५ प्रतिशत नै कायम राखेको छ भने अल्पकालीन लगानीकर्ताका लागि २.५० प्रतिशतले बढाउने घोषणा गरेको थियो ।

यसदिन कारोबारमा आएका ९९ कम्पनीको शेयरमूल्य बढेको छ भने ८० कम्पनीको शेयरमूल्य घट्दा ३ कम्पनीको शेयरमूल्य स्थीर रहेको छ । नेप्से सूचक दोहोरो अंक १२.५४ अंकले बढेर २८२७.९३ बिन्दुमा पुगेर बन्द भएको छ ।

आज कारोबारमा आएका १३ समुहका सूचकमध्ये ७ वटा बढेका छन् भने ६ वटाको घटेको छ । विकास बैंकको सूचक सर्वाधिक ७.३९ प्रतिशतले बढेको छ भने फाइनान्स ५.०८, होटल ४ प्रतिशत, म्युचुअल फण्ड ३.८७ र बैंकिङ्ग सूचक १.०७ प्रतिशतले बढेको छ । आज अन्यको सूचक सबैभन्दा धेरै २.४९ प्रतिशतले घटेको छ भने लघुवित्तको सूचक १.३७ प्रतिशतले घटेको छ ।

आइतबारको बजारमा नेशनल हाइड्रोपावरको सबैभन्दा धेरै शेयर कारोबार भएको छ । कम्पनीको १८ लाख ७५ हजार ९९० कित्ता शेयर ४७ करोड ४० लाख ९० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।  यसैगरी अरुण काबेली पावरको ४६ करोड ९२ लाख, युनाइटेड मोदी हाइड्रोपावरको ४१ करोड ३१ लाख, बुटवल पावरको ४१ करोड २८ लाख, र अपि पावरको ४० करोड १३ लाख रुपैयाँको शेयर कारोबारमा आएको हो ।

यस्तै चिलिमे हाइड्रोपावरको ३४ करोड ८६ लाख, सानिमा माइ हाइड्रोपावरको ३३ करोड ३१ लाख, हिमाल दोलखा हाइड्रोपावरको ३२ करोड ६८ लाख, रसुवागढी हाइड्रोपावरको २९ करोड ८५ लाख र एशियन लाइफको २९ करोड ६७ लाख रुपैयाँको शेयर खरीद बिक्रीमा आएको छ ।

यसदिन डेढ दर्जन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने बरुण हाइड्रोपावर, हिमालयन उर्जा, मिथिला लघुवित्त, माउन्टेन हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशत धेरैले घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।