कुल गार्हस्थ उत्पादनलाई शेयर बजार पूँजीकरणले पछि छाड्यो, ४१ खर्ब माथि


निरन्तरको वृद्धिसँगै शेयर बजारको पूँजीकरणले कुल गार्हस्थ उत्पादनलाई फराकिलो अन्तरले पछि पारेको छ । मंगलबार मात्र बजार ५३ अंकभन्दा बढीले उकालो लाग्दा पूँजीकरण ७४ अर्ब रुपैंयाले बढेको छ । वित्त तथा बीमा कम्पनीहरुमा लगानीकर्ताको चाप बढेसँगै ती समुहका कम्पनीको शेयर मूल्यमा उछाल आउँदा बजार बजार सुचकसँगै पूँजीकरणमा तिब्र सुधार भएको हो ।

मंगलबार समग्र बजार पूँजीकरण ७४ अर्ब १९ करोड ४० लाख रुपैंयाले बढेर ४१ खर्ब ९ अर्ब ५७ करोड रुपैंया पुगेको छ । बजार पूँजीकरणको यो आकार इतिहासकै सर्वोच्च विन्दुमा पुगेको हो ।

उता मंगलबार बजार परिसुचक नेप्से पनि ५३.४४ अंकले बढेर इतिहासकै उच्चतम विन्दु २९६०.१४ अंकमा उक्लिएको छ । यस दिन १६ अर्ब ९५ करोड १२ लाख रुपैंयाको शेयर कारोबार भएको छ ।

नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पूँजीकरणलाई शेयर बजारको सम्पत्तिको रुपमा बुझिन्छ । नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो ।

यसअवधिमा बजारमा शेयरको आपूर्ति उल्लेख्य बढेको छ । यो अवधिमा बैंक वित्तीय संस्थाहरुले बोनसमा जोड दिएका छन् भने मर्जर तथा प्राप्ती कारण समेत बलिया संस्थाको रुपमा विकसित भैरहेको अवस्था रहेको छ । जलविद्युत तथा उत्पादन मुलक क्षेत्रका कम्पनीहरुको सहभागिता पनि बढेको छ । सूचीकृत कम्पनीको हकप्रद शेयर पनि उत्तिकै थपिएको छ । त्यसैगरी नयाँ .कम्पनीहरुको साधारण शेयरका कारण पनि शेयरको आपूर्ति र मूल्य बढेको अवस्था छ ।

कोरोना भाइरसका कारण समग्र अर्थतन्त्र गतिशिल हुन नसकेको अवस्थामा शेयर बजारमा भने दिनप्रतिदिन आकर्षण बढिरहेको छ । लगानीका अन्य क्षेत्रहरुमा संकुचन देखिएका बेला घरमा बसेर शेयरमा लगानी गर्न सक्ने भएकाले पनि आकर्षण बढेको हो । पुरानासँगै ठुलो संख्यामा नयाँ लगानीकर्ताको बजार प्रवेशले नेप्से सूचकको निरन्तरको वृद्धि टिकेको छ ।

त्यतिमात्र नभई बैंक वित्तीय संस्थाको ब्याजदर घटेको हुनाले निक्षेप र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको ऋण समेत शेयर बजार थपिएको अनुमान छ । त्यसले बजार बजार सुधारमा महत्वपुर्ण भुमिका खेलेको छ ।

बजार पूँजीकरण कम्पनीको शेयर र अन्तिम मूल्यको गुणनफल भएकाले शेयर मूल्यसँगै पूँजीकरण पनि बढ्छ । हाम्रो बजारमा संस्थापक र पब्लिक शेयर दुबै भएपनि दैनिक कारोबारमा एकाध बाहेक पब्लिकको मात्र हुने गरेको छ ।

मंगलबार कारोबारयोग्य शेयरको बजार पूँजीकरण अर्थात फ्लोट मार्केट क्याप पनि १४ खर्ब ३७ अर्ब ८८ करोड रुपैंया नाघेको छ । नेप्से १८८१ मा रहेको दिन २०७३ साउन १२ गते फ्लोट मार्केट क्याप ६ खर्ब ९१ अर्ब ४७ करोड रुपैयाँ मात्र थियो ।

बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।

कुल गार्हस्थ उत्पादनको आँकडालाई हेर्दा नेपालको धितोपत्र बजार ‘ओभर भ्याल्यूड’ को अवस्थामा पुगेको छ । कोरोना भाइरस संक्रमण कारणका लगानीका अन्य क्षेत्रमा आएको संकुचन, शेयर बजारमा संस्थागत लगानीकर्ता र ब्यापारिक क्षेत्रको समेत लगानी थपिँदा बजार ‘ओभर भ्यालुड’ भएको हो ।

धितोपत्र बजार बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनको ५० देखि ७५ प्रतिशतसम्म रहेको अवस्थालाई समान्तर धितोपत्र बजार ‘अण्डर भ्यालुड’ रहेको बुझिन्छ । यस्तै ७५ देखि ९० प्रतिशतमा रहनुलाई धितोपत्र बजार सन्तुलित अवस्थामा रहेको बुझिन्छ । त्यसैगरी कुल ग्राहस्थ उत्पादनको तुलनामा धितोपत्र बजारको पूँजीकरण १०० देखि ११५ प्रतिशतसम्म छ भने त्यो ओभर भ्यालुड भएको मानिन्छ ।
केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ को अन्त्य सम्ममा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड रुपैयाँ छ ।

मंगलबार धितोपत्र बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनभन्दा झण्डै २ खर्ब माथि पुगेको छ । मंगलबार बजार पूँजीकरण ४१ खर्ब ९ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यो कुल ग्राहस्थ उत्पादनका आधारमा १०४.२ प्रतिशत हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।