कोरोनाका कारण गहना बनाउने कालिगढहरु नेपाल छाड्ने मानसिकतामा, २ दर्जन बढीले ज्यान गुमाए


नेपाली बजारमा गर गहना बनाउने कालीगढहरुको अभाव बढ्दै जाने आँकलन गरिएको छ । नेपाली कालिगढको संख्या नगन्य मात्रामा भएको अवस्थामा भारत र बंगलादेशी कालिगढमा नेपाली सुन चाँदी बजार आश्रित छ ।

५० प्रतिशतभन्दा धेरै मात्रामा रहेका छिमेकी मुलुकका कालीगढहरु निषेधाज्ञाका कारण नेपालमा रोकिएका छन् । उनीहरु कहिले लकडाउन खुल्छ र आफ्नो मुलुक फर्किने भन्ने पर्खाइमा छन् ।

अर्कातिर कोरोना संक्रमणका कारण स्वदेशी तथा विदेशी कालिगढको मृत्यु भएका कारण पनि भारत तथा बंगलादेशका कालिगढहरु नेपालमा बसेर काम गर्ने मनसायमा छैनन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्यका अनुसरा कोरोना भाइरस संक्रमणका कारण नेपालमा २ दर्जनभन्दा बढी नेपाली र विदेशी कालिगढको मृत्यु भएको छ ।

दोस्रो चरणको कोरोना संक्रमण तीव्र भएपछि बैशाख १६ गतेबाट सुरु भएको लकडाउनले व्यवसाय बन्द भएपछि धेरै विदेशी कालिगढहरु आफ्नो मुलुक फर्किसकेका छन् ।

गत वर्षको कोराना लहर भन्दा यो वर्षको कोरोना लहर जोखिमपूर्ण र धेरै पेचिलो भएपछि विदेशी कालिगढहरुले असहज महसुस गरेको सुनचाँदी व्यवसायी महासंघको भनाई छ । कोरोनाका कारण मृत्यु हुने कालिगढको वास्तविक संख्या अझै वृद्धि हुन सक्ने भन्दै महासंघ अध्यक्ष शाक्यले समस्यामा परेकालाई सहयोग गर्दै मृत्यु भएकाहरुको तथ्यांक संकलन गर्ने काम महासंघले गरिरहेको बताए ।

धेरै विदेशी कालिगढहरु स्वदेश फर्किन चाहेको भन्ने कुरा चौतर्फी रुपमा आईरहेकाले बजारलाई असर पार्न सक्ने महासंघ अध्यक्ष शाक्यको बुझाई छ । दोस्रो चरणको कोरोना संक्रमण सुरु हुँदा स्वदेश फर्किएका कालिगढ नेपाल फर्किन्छन वा फर्किँदैनन् भन्ने चिन्तामा महासंघ रहेको शाक्यले नोटबजारलाई बताए ।

दोस्रो लहरको कोरानाको असर र जोखिमबाट डराएका विदेशी कालिगढहरु अहिले नेपाल बस्नै नचाहने मानसिकतामा रहेकाले भोलिका दिनमा बजारमा कालीगढको अभाव देखिन सक्ने उनको भनाई छ ।

महासंघले जेठ महिनाको सुरुदेखि नै कोरोना प्रभावित कालिगढ तथा व्यवसायीहरुको सहयोग तथा तथ्यांक संकलनका लागि विपत व्यवसथापन समिति गठन गरेको थियो । उक्त समितिले देशका सातै प्रदेशमा सुनचाँदी व्यवसायमा आवद्ध व्यवसायी तथा कालिगढहरुको मृत्यु संख्या, स्वास्थ्य समस्या परेकाहरुको संख्या र स्वास्थ्य सामग्रीको अभाव झेलिेर समस्यामा परेकाहरुको तथ्यांक संकलन गरिरहेको छ । साथै असहज अवस्थामा रहेकाहरुलाई सहयोग पनि गरिँदै आएको महासंघले जनाएको छ ।

यस दौरान विभिन्न स्थानमा रहेका कालीगढहरु बन्दाबन्दी खुकुलो भए पछि घर फर्किन चाहेको भन्दै सहजीकरणका लागि महासंघसँग आग्रह गरिरहेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।