नेप्से सूचक ३ हजार माथि पुग्दा कस्तो रह्यो सोमबारको बजार ?

0
Shares

इतिहासमा नै पहिलो पटक नेप्से सूचकले ३ हजार बिन्दु पार गरेको छ ।

सोमबार नेप्से सूचक १.४३ प्रतिशत अर्थात ४२.७२ अंकले बढेर ३०२५.८३ बिन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक १०.६० अंकले बढेर ५५०.०१ बिन्दुमा पुगेको छ ।

सोमबार कायम भएको बिन्दु हालसम्मकै उच्च बिन्दु हो । आइतबार मात्रै ३८ अंकले बढेर बजार २९८३.१० बिन्दुमा रेकर्ड कायम भएकोमा सोमबार उक्त रेकर्ड समेत तोडिएको हो ।

सूचकमा रेकर्ड तोडिएपनि कारोबार रकम भने आइतबारको तुलनामा ६७ करोडले घटेको छ । आइतबार १९ अर्ब ५५ करोडको शेयर कारोबार भएकोमा सोमबार १८ अर्ब ८८ करोड रुपैयाँको शेयर काराबार भएको हो ।

तीव्र उतार चढावपूर्ण रहेको आजको बजारमा बिहान ११ बजेर ४६ मिनेटमा अधिकतम ३ हजार ५१ बिन्दुम्म पुगेको थियो भने १ हजोर २३ मा ३ हजार १० बिन्दुसम्म ओलिएको थियो ।

कोभिड १९ को दोस्रो लहरको तीव्र फैलावटका कारण जारी निषेधाज्ञाका कारण लगानीको अन्य क्षेत्र ठप्प हुँदा सबै लगानी शेयर बजारमा ओइरिएको छ । जसका कारण बजारमा दिनदिनै नयाँ नयाँ रेकर्ड कायमै हुँदै गर्दा शेयर बजारमा प्रवेश गर्ने नयाँ लगानीकर्ताहरु संख्यामा पनि उच्च वृद्धि भएको छ ।

बजार उच्च बिन्दुमा पुगगेकाले दोस्रो बजारका बारेमा कम जानकारी भएका लगानीकर्ताहरुको समेत उल्लेख प्रवेशले आफुले खरीद गर्ने स्क्रिप्टका बारेमा राम्ररी बुझेर मात्र लगानी गर्नुपर्ने जानकारहरु बताउँछन् । कम्पनीको संस्थागत सुशासन, वित्तीय सूचाङ्क, लगानीकर्ताको आकर्षण आदी विविध पक्षको गहन अध्ययन पश्चात आफ्नो जोखिम लिने क्षमता अनुसारको मात्र लगानी गर्न उनीहरुको सुझाव छ ।

सोमबार कूल २२१ कम्पनीको ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता शेयर १ लाख ७५ हजार ४११ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५१९ रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटा समूहको सूचक बढेको छ भने ६ वटा घटेको छ । सोमबार लगानीकर्ताको आकर्षण होटल र टुरिजम्मा आकर्षण बढेको छ ।

कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै ६२ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर कारोबारमा आएको छ । अपि पावर ५४ करोड ८६ लाख र हिमालयन डिष्टिलरीको ५० करोड २९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद बिक्री भएको छ। नेपाल पुनर्बीमा कम्पनी, लुम्बिनी विकास बैंक, अरुण काबेली हाइड्रोपावर, नेशनल हाइड्रोपावर, रसुवागढी जलविद्युत आयोजना, नेपाल इन्स्योरेन्स र नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको पनि ३० करोड बढीको शेयर कारोबार भएको छ ।

एक दर्जन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

आइतबार चार वटा कम्पनीको शेयरमूल्यमा १० प्रतिशत र ८ कम्पनीको शेयरमूल्यमा ९ प्रतिशत धेरैले बढेर सकारात्मक सर्किट लागेको छ ।

यसदिन नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतकादरले नाफा कमाएका छन् । यसैगरी ङादी ग्रुप पावर, ओरियन्टल होटल, सिइडिबी हाइड्रोपावर, तारागाँउ रिजेन्सी होटल, युनियन हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, सोल्टी होटल र हिमालयान डिष्टिलेरीको शेयरमा लगानी गरेकाले पनि ९ प्रतिशत भन्दा धेरै नाफा कमाएका छन् ।

माउन्टेन हाइड्रोका लागानीकर्ताले धेरै गुमाए

सोमबारको बजारमा माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य उच्च घटेको छ । कम्पनीको शेयरमा लगानी गरेकाले सबैभन्दा धेरै ५.०१ प्रतिशतले घाटा ब्यहोरेका छन् ।  यसैगरी अरुण भ्याली हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, गुडविल फाइनान्सको शेयरमूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यसैगरी ग्रीन लाइफ हाइड्रोपावर, गणपति माइक्रोफाइनान्स, रौराङ हाइड्रोपावर, रिडी हाइड्रोपावर, युनाइटेड इदिमर्दी आरबी हाइड्रोपावर र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले साढे ३ प्रतिशत भन्दा धेरैले गुमाएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।