व्यवसायी लुटिए पछि शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायी महासंघको आग्रह


नेपाल सुनचाँदी व्यवसायी महासंघले व्यवसायीमाथि हुने भौतिक आक्रमण र लुटपाटका घटना बढेको भन्दै सरकारसँग सुरक्षा प्रत्याभुतिका लागि आग्रह गरेको छ । पछिल्ला दिनमा ब्यवसायी माथि आक्रमण तथा लुटपाटका घटना बढ्दै गएको भन्दै महासंघले गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

एक पछि अर्को गर्दै आक्रमण र लुटपाटका घटना दोहोरिँदै जानुले मुलुकको शान्ति सुरक्षाको अवस्थाप्रति नै गंभिर चुनौति खडा गरेको महासंघको भनाई छ ।

एक महिना पहिले सिराहामा भएको सुनचाँदी ब्यवासयीको हत्या र लुटपाटको घटना सेलाउन नपाउँदै महोत्तरी जिल्लाको सम्सी गाउँपालिका वडा नं १ मा त्यस्तै प्रकृतिको अर्को घटना दोहोरिएको भन्दै महासंघले सुरक्षा प्रत्याभुति खाजेको हो ।

लुटेरा समूहले राजिप ज्वेलर्सका सञ्चालक विरेन्द्र साहलाई बुधबार राति करिव १२ बजेको समयमा गोली हानी गंभिर घाइते बनाइ परिवारका अन्य सदस्यलाई समेत रड तथा खुकुरी प्रहार गरी खस्त घाइते बनाएको र पसल तथा घरमा रहेका सुन तथा चाँदी र गरगहना लुटेर लगेको महासंघले जनाएको छ ।

“व्यवसायी माथि एकपछि अर्को गरी हमला तथा लुटपाट गरिन थालेको घटनाले समग्र सुनचाँदी व्यवसायीलाई हतोत्साहित र चिन्तित बनाएको मात्र नभई ब्यवसाय सञ्चालन गर्ने मनोवल नै खस्किएको छ । यस्ता घटनाले सुनचाँदी व्यवसायी मात्र नभई समग्र उद्यमी व्यवसायी र पेशाकर्मीलाई नै चिन्तित तुल्याएको छ”, महासंघले भनेको छ ।

यस्तो घटनाको बिषयमा सरकार एवं सुरक्षा निकायको गंभिर रुपमा ध्यानाकर्षण गराउँदै दोषीको अविलम्व पत्ता लगाई कडा भन्दा कडा कारवाहीको माग गरेको महासंघले आगामी दिनमा यस्ता घटना हुन नदिन माग समेत गरेको छ ।

“आगामी दिनमा निर्वाधरुपमा पेशा व्यवसाय गर्न पाउने वातवारण सिर्जना गर्न सरकार र सुरक्षा निकायसँग आग्रह गर्दछौं”, महासंघको विज्ञप्तिमा उल्लेख छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।