राजस्व चुहावट र विदेशी विनिमय अपचलनलाई नियन्त्रण गर्दै राजस्व संकलनमा जोड

0
Shares

राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिको बैठकले समितिको संरचनामा समसामयिक परिमार्जनका लागि सिफारिस गर्ने निर्णय गरेको छ। साथै राजस्व चुहावट र विदेशी विनिमय अपचलनलाई नियन्त्रण गर्दै राजस्व संकलनमा जोड दिने भएको छ।

असार १४ गते सोमबार राजस्व अनुसन्धान विभागको सभाकक्षमा विभागका महानिर्देशक तथा राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिका संयोजक राम प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले राजस्व संकलनलाई परिणाममूखि वनाउने तथा राजस्व चुहावट नियन्त्रणका कार्यलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न अन्तर निकाय समन्वयमा जोड दिने निर्णय समेत गरेको छ ।

साथै जिल्ला स्थित राजस्व चुहावट अनुगमन समितिको कार्यादेश परिमार्जन गरी केन्द्रीय राजस्व चुहावट नियन्त्रण समिति समक्ष पेश गर्ने र राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिको संरचनामा समसामयिक परिमार्जनका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले राजस्व संकलन तथा चुहावटमा कोभिड-१९ को असरको हालसम्मको अवधिमा राजस्व संकलनमा प्रत्यक्ष असर परेको देखिएता पनि समग्रमा राजस्व संकलन सन्तोषजनक नै रहेको निष्कर्ष समेत निकालेको छ । बैठकमा कोभिड-१९ को विषम परिस्थितिमा व्यापार व्यवसाय तथा अत्यावश्यक वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहजीकरण गर्ने, राजस्व चुहावट र विदेशी विनिमय अपचलनलाई नियन्त्रण गर्दै राजस्व संकलनमा जोड दिने विषयमा समेत छलफल भएको थियो ।

उक्त बैठकमा राजस्व अनुसन्धान विभागका उप-महानिर्देशक शिवलाल तिवारीले कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त कार्यपत्रमा राजस्व चुहावट जोखिमका क्षेत्रहरु, सूचना प्रविधिको प्रयोगसँगै आर्थिक अपराधमा देखा पर्ने नवीन चुनौतीहरु र अपनाउनुपर्ने रणनीतिहरु, कोभिड-१९ र यसले राजस्व संकलनमा पारेका असरहरु समेटिएका थिए।साथै उक्त कार्यपत्रमा केन्द्रीय राजस्व चुहावट नियन्त्रण समिति तथा राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिका पछिल्ला निर्णयहरु र कार्यान्वयनको अवस्था साथै जिल्ला स्थित राजस्व चुहावट अनुगमन समितिलाई प्रभावकारी रुपमा परिचालन गर्ने सम्वन्धमा समेत छलफल गरिएको थियो ।

उक्त बैठकमा समितिका सदस्यहरु क्रमशस् भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक, शसस्त्र प्रहरी वल, नेपालका नायव(महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधि, विभागका उपमहानिर्देशक लगायतका उच्च सरकारी अधिकारीहरुको उपस्थिति थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।