सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरेर असार २६ गतेबाट एकीकृत कारोबार थाल्दै

0
Shares

सिटिजन्स बैंक इन्टरनेशनलले सिर्जना फाइनान्सलाई प्राप्ति गरेर असार २६ गतेबाट एकीकृत कारोबार गर्ने भएको छ।

राष्ट्र बैंकले मंगलबार अन्तिम स्वीकृति दिएपछि असार मसान्तअघि नै एकीकृत कारोबार गर्न लागेको हो। आ-आफ्नो विशेष साधारणसभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएका थिए।

बैंकले फाइनान्सको १०० कित्ता शेयरलाई बैंकको ९५ कित्ता शेयर दिने गरी प्राप्ती गरेको हो । दुवै संस्थाले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

सहमति अनुसार, सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिब १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ। प्राप्तिपछि बैंकको कुल शाखा १८९ हुने छ।

प्राप्ति पश्चात बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने र देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।