सिटिजन्स बैंकमा सिर्जना फाइनान्स गाभियो, एकीकृत कारोबार सुरु


सिटिजन्स बैंक इन्टरनेसनलले नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सलाई लिमिटेडलाई आफुमा विलय गरेर एकीकृत कारोबार सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारकोे कार्यालयको स्वीकृति पश्चात प्राप्ति गरी २०७८ असार २६ गते शनिबारदेखि बैंकले एकीकृत कारोबार सुरु गरेको हो । सिटिजन्स बैंक इन्टरनेसनल र सिर्जना फाइनान्सका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक विशेष समारोह बीच सिटिजन्स बैंक इन्टरनेसनलका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका हुन् ।

२०७८ साल असार २५ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ४१ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब २४ अर्ब रुपैयाँ हुनेछ ।

प्राप्ती पश्चात बैंकको कुल शाखा संख्या १८९ हुनेछ । यस प्राप्ति पछि बैंकको ग्राहक सङ्ख्या करिव १२ लाख पुगेको छ । हाल सिटिजन्स बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्ति पश्चात् उक्त प्रदेशमा बैंकको शाखा संख्या २७ र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् शाखा संख्या २७ पुगेको छ ।
सहमति अनुसार, सिर्जना फाइनान्सका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनलको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ती पछिको चुक्ता पूँजी १२ अर्ब ५७ करोड रुपैयाँ हुनेछ ।

एकीकृत कारोबारको सुरुवात गर्दै बैंकका अध्यक्ष राजन सिंह भण्डारीले यस प्राप्ति पश्चात बैंकको वित्तीय सूचकाङ्कहरु मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने बताए । मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास पनि उनले व्यक्त गरे । प्राप्तीबाट सिर्जना फाइनान्सका ग्राहकहरुले अझ बढी स्तरिय र परिस्कृत वित्तीय सेवाहरु पाउने उनको भनाई थियो ।

साबिकको सिर्जना फाइनान्सका सञ्चालक समितिका अध्यक्ष सुयेश प्याकुरेलले फाइनान्सका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य सिटिजन्स बैंक इन्टरनेसनलमा अझ बढी सुरक्षित र उज्वल हुने बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्स बैंक इन्टरनेसेनलका संचालक एवं मर्जर तथा प्राप्ती समितिका संयोजक प्रवल जंग पाण्डेले प्राप्ती पश्चात बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने बताए ।

संयुक्त कारोबारको सुरुवात कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसेनलका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले मर्जर पश्चात कर्मचारीहरुको उचित ब्यवस्थापन र दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिका लागि ठोस कार्यक्रमहरु संचालन गर्ने बताएका थिए । बंैकको बढ्दो ब्यवसाय, शाखा सञ्जाल तथा अन्य स्रोतहरुबाट सृजित हुन सक्ने जोखिमहरु अध्ययन गरी पहिचान गर्ने तथा त्यस्ता जोखिमको उचित व्यवस्थापन गरी संभावित हानीलाई न्यून गर्नको लागि स्थापित जोखिम व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाउँदै जाने योजना रहेको उनको भनाई थियो ।

२०६४ बैशाख ७ गते देखि २० आंै वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनलले मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई अंगिकार गर्दै पिपल्स फाइनान्स, नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ती गरिसकेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।