आरविवि म्युचुअल फण्डको आकार सवा १ अर्ब पुग्यो, झण्डै डेढ अर्बको इकाई माग


आरविवि म्युचुअल फण्ड १ को इकाईमा अधिक आवेदन परे पछि फण्डको आकार सवा १ अर्ब कायम भएको छ । शनिबारको सार्वजनिक बिदा समेत ५ दिन निष्काशन भएको फण्डका इकाईमा १ अर्ब ४१ करोड ७५ लाख १३ हजार १०० रुपैंयाको आवेदन परेको केन्द्रिय निक्षेप प्रणाली सिडिएससीले जनाएको छ ।

सिडिएससीका अनुसार ५४ हजार ४६९ आवेदकबाट उल्लेखित मात्रामा फण्डका इकाईहरु माग भएको हो । आइतबारदेखि नै फण्डका इकाई निष्काशन बन्द भएको छ ।

प्रति इकाई १० रुपैंयाको दरमा १० करोड इकाई मध्ये बीज पूँजी बापत १३ प्रतिशत इकाई कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा २ प्रतिशत इकाई योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको लागि सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाईहरु असार २३ गतेदेखि सर्वसाधारणमा निष्काशन गरिएको थियो ।

निष्काशन गरेभन्दा ४१ प्रतिशतभन्दा धेरै आवेदन परेका कारण फण्डको आकार १ अर्ब रुपैंयाबाट सवा १ अर्ब रुपैंया पुगेको हो । जस अनुसार कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंकको १३ प्रतिशत बिज लगानी १३ करोड रुपैंयाबाट बढेर १६ करोड २५ लाख रुपैंया पुगेको छ भने व्यवस्थापक आरबिबि मर्चेण्ट बैंकिङको २ प्रतिशत बिज लगानी २ करोड रुपैंयाबाट बढेर अढाई करोड रुपैंया पुगेको छ ।

यस आधारमा फण्डका १ अर्ब ६ करोड रुपैंया बराबरका इकाई मात्र सर्वसाधारणलाई बाँडफाँड गरिनेछ । यस दौरान १ अर्ब ४१ करोड मध्येबाट ३५ करोड रुपैंया बराबरको ३५ लाख इकाईका आवेदकले फण्डका इकाई पाउने छैनन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।