करिब एक लाख ऋणीलाई सहुलियतपूर्ण कर्जा, १४८ अर्ब पुनरकर्जा स्वीकृत

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आवको एघार महिनामा सहुलियत दरमा प्रदान गर्दै आएको १ खर्ब ४८ अर्ब ३५ करोड पुनरकर्जा स्वीकृत भएको जनाएको छ । जसमध्ये जेठमसान्तसम्मा एक खर्ब २७ अर्ब ९ करोड लगानीमा रहेको राष्ट्र बैकले जनाएको छ ।

२०७८ जेठ मसान्तसम्ममा ९६ हजार ८ सय ५२ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई एक खर्ब ५० अर्ब ९६ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैकले जनाएको छ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४४ हजार ७ ऋणीलाई प्रवाह भएको एक खर्ब २ अर्ब ८३ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ५० हजार ५ सय १३ महिला उद्यमीलाई प्रवाह भएको ४४ अर्ब ६६ करोड कर्जा रहेको छ । त्यस्तै सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ३ सय ३२ ऋणीको ३ अर्ब ४७ करोड कर्जा बक्यौता रहेको छ ।

“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ जेठ मसान्तसम्ममा ८२ करोड २४ लाख स्वीकृत भएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले उद्यमशीलताको विकास, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा परिमार्जन सहित सहुलियतपूर्ण कर्जा कार्यान्वयनमा ल्याएको थियो । साथै कोभिड–१९ ले प्रभावित पेशा, उद्योग र व्यवसायलाई संरक्षण गर्नुको साथै कृषि र साना तथा मझौला र घरेलु व्यवसायलाई सहुलियतपूर्ण पुनरकर्जाको व्यवस्था गरेको थियो ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।