अर्थतन्त्रलाई मुख्य विधा बनाएर नोटबजारले खबर सम्प्रेषण आरम्भ गरेको आजदेखि (२०७८ साल साउन १ गते) दुई वर्ष पूरा भएको छ । आजभन्दा ठीक २ वर्ष पहिले अर्थात २०७६ साल साउन १ गते नोटबजार डटकमको औपचारिक सुरुवात भएको थियो । दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा नोटबजारसँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिनुभएका सबैमा कृतज्ञता प्रटक गर्दछौं ।
कोरोना महामारीले आक्रान्त पारिरहेका बेला पछिल्लो वर्षझैं यस पटक पनि हामीले दोस्रो वार्षिकोत्सव कार्यक्रमलाई औपचारिकतामा सीमित बनाएका छौं । अवस्था सहज नहुँदा हामीले नियमित कार्यलाई निरन्तरता दिँदै सामान्य गतिविधिबाट नै वार्षिकोत्सवलाई भव्य बनाउने प्रयत्न गरेका छौं । यस दौरान हामीले हाम्रो मूल कर्ममा अविचलित रहँदै सक्रिय रुपमा अघि बढी रहेका छौं ।
अर्थतन्त्रलाई मुख्य विधा बनाएर गरिने पत्रकारिताको इतिहास नेपालमा धेरै लामो नभएको सन्दर्भमा अनलाइन माध्यमबाट हुने यस किसिमको पत्रकारिताको इतिहास झनै छोटो छ । प्रविधिको विकाससँगै हरेक व्यक्तिको हात हातमा समाचारको पहुँच पुगिरहेको वर्तमान सन्दर्भमा पाठकको सही सूचनाको पहुँच उत्तिकै महत्वपूर्ण छ । यही चुनौतीलाई नजिकबाट अनुभुत गरेका हामीले “कम्मिेटेड फर एक्यूरेसी” अर्थात “सही सूचनामा प्रतिबद्ध” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै नोटबजारको परिकल्पना गरेका थियौं । यही मन्त्रलाई आफ्नो नारा बनाएर वास्तविक, सत्यतथ्य समाचारमुलक सामग्री पाठक समक्ष पुर्याउने अभियानमा हामीले निरन्तर कलम चलाई रहेका छौं ।
नोटबजारको उदयको वर्ष दिन बित्न नपाउँदै विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोभिड १९ संक्रमणका कारण विश्व अर्थतन्त्र हल्लिएका बेला हामी पनि त्यसबाट अछुतो रहन सकेनौं । त्यसका वाबजुत पनि नोटबजारले आफ्नो व्यवसायिक मर्म अनुसार अर्थतन्त्रका विविध पाटोहरुलाई आम पाठकसम्म पुर्याउनका लागि कलम चलाउने अभियानलाई निरन्तरता दिई नै रह्यो र आजका दिनमा पनि हाम्रो अभियान अझ उत्साहजनक अवस्थामा छ ।
सूचना तथा सञ्चार क्षेत्रमा पछिल्लो दशकमा थपिएका विविध नयाँ आयाम मध्ये उदयीमान अनलाइन माध्यमबाट सशक्त रुपमा सञ्चार क्षेत्रमा उपस्थिती जनाउने लक्ष्यका साथ अघि बढिरहेको नोट बजारको यात्रामा जोडिनु भएका आम पाठक वर्ग, विज्ञापनदाता, समाचारका स्रोतका साथै प्रत्यक्ष अप्रत्यक्ष रुपमा सद्भाव राख्नुहुने सबैप्रति नोट बजार डक कम परिवार हार्दिक आभार प्रकट गर्दछ । आगामी दिनमा पनि यहाँहरुको यस्तै साथ, सहयोग र सहकार्यको अपेक्षा राख्दछौं ।
– नोट बजार प्रा.लि. परिवार ।
प्रतिक्रिया