नयाँ सरकारले विश्वासको मत पाउने भएपछि शेयरबजारमा छायो हरियाली

0
Shares

शेयरबजारप्रति सकारात्मक देखिएको नयाँ सरकारले विश्वासको मत पाउने वातावरण बनेपछि शेयर लगानीकर्ता उत्साहित हुँदा नेप्सेमा हरियाली छाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवारको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत पाउने वातारण बनेपछि आइतबारको शेयर बजारमा नेप्से तथा कारोबार रकममा बढोत्तरी आएको हो ।

प्रतिनिधिसभामा हाल कायम रहेको संख्याका आधारमा १३६ जनाको मत देउवालाई आवश्यक छ ।

नेकपा एमालेका माधव नेपाल पक्षका नेताहरुले समेत देउवा सरकारलाई विश्वासको मत दिने माहोल बनेपछि नयाँ सरकारले विश्वासको मत पाउने निश्चित जस्तै छ । एमालेका नेता झलनाथ खनालले देउवा सरकारलाई विश्वासको मत दिन सार्वजनिक अपिल नै गरेका छन् ।

देउवा सरकारका अर्थमन्त्री जर्नादन शर्माले मन्त्रीबनेपछिको आफ्नो् पहिलो पत्रकार सम्मेलनमा शेयरलगानीकर्ताको हितमा काम गर्ने बताएका थिए । राजश्वको महत्वपूर्ण स्रोतको रुपमा शेयर बजार विकशित हुँदै गएको अवस्थामा नयाँ सरकारले बजारलाई नकारात्मक प्रभाव पार्ने नीति नलिने संकेत अर्थमन्त्रीले जनाइसकेका छन् । यसले पनि लगानीकर्ताको मनोबल उकासेको विश्लेषण गरिएको छ ।

चालु आवको मौद्रिक नीति सार्वजनिक हुन बाँकी रहेको अवस्थामा यो सरकारले विश्वासकोमत पाएमा बजार अनुकुलको मौद्रिक नीति आउने अपेक्षा लगानीकर्ता रहेको एक अग्रज लगानीकर्ताले बताए । नयाँ आर्थिक वर्षको पहिलो दिनको कारोबारमा असारमसान्तको सेटलमेन्ट गरिसकेका लगानीकर्ताहरु समेत पुन बजार फर्किएको उनको भनाई छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरु विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको चौथो त्रैमासिक रिर्पोट समेत सार्वजनिक गर्न थालेपछि लाभांशका लागि लगानीगर्नेहरु पनि बजार प्रवेश गर्न थालेको अर्का लगानीकर्ताले बताए । लाभांशका लागि लगानी गर्नेहरु बजार प्रवेश गरेकाले बैंकहरुमा समेत सुधार आउन थालेको उनको बुझाई छ ।

आइतबार नप्से सूचक ९७.२१ अंक अर्थात ३.३७ प्रतिशतले बढेर २९८०.६१ अंकमा पुगेको छ । यसदिन ११ अर्ब ६३ करोड बढीको कारोबार भएको छ । दिनभर २२१ कम्पनीका २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर १ लाख १६ हजार २९४ वटा संख्याको कारोबारबाट ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन् ।

यसदिन कारोबारमा आएको सबै १३ वटै समुहमा हरियाली छाएको छ । बैंकिङ्गले लिड गरेको आजको बजारमा बैंकिङ्ग ४.६७ प्रतिशत, विकास बैंक ४.९८ प्रतिशतले बढेको छ भने जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड निर्जीवन बीमाको सूचक ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आइतबार मञ्जुश्री फाइनान्सको सबैभन्दा धेरै ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबारमा आएको छ । यसैगरी नबिल बैंक ३८, अरुण भ्याली ३७, एनआईसी एशिया बैंक ३५, कामना सेवा विकास बैंक ३४, सिद्धार्थ बैंक साढे २९ करोड, नेपाल बंगलादेश बैंक २६, हिमालयन डिष्टिलरी २४, सानिमा बैंक साढे २२ करोड र नेपाल बैंकको २१ करोडको शेयर खरीद बिक्री भएको छ ।

आइतबारको बजारमा हिमालयन पावर पार्टनर, सिंगटी हाइड्रोपावर, सिन्धु विकास बैंक, ङादी ग्रुप पावर, र समृद्धि फाइनान्सको शेयरमूल्य १० प्रतिशतका दरले बढेको छ भने एनआईबिएल समृद्धि फण्ड २ को मूल्य ५.३७ प्रतिशतले घट्दा, गुडविल डिबेञ्चर ८३, ग्लोबल आइएमई डिबेञ्चर ८०/८१ लगायतको मूल्य पनि घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।