मेरो शेयरमा थपियो शेयर होल्ड भएको दिन गणना गर्ने फिचर, कसरी निर्धारण हुन्छ कर ?


केन्द्रीय निक्षेप प्रणाली सिडिएससीले मेरो शेयर अनलाइन सफ्ट्वेयरमा शेयर मौज्दात भएको अवधि गणना गर्ने फिचर थप गरेको छ । चालु आर्थिक वर्षको बजेट मार्फत १ वर्षभन्दा बढी समय होल्ड गर्नेका लागि ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने र सो अवधिभन्दा कम समय होल्ड गर्नेलाई ७.५ प्रतिशत कर निर्धारण गरेको छ ।

लगानीकर्तालाई आफुले किनेको शेयरको होल्डिङ अवधि सहजै थाहा होस् भन्नका लागि यस्तो फिचर थप गरिएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानले नोटबजारलाई बताए । उनका अनुसार साउन १ गतेदेखि लागू भएको व्यवस्थाको सहज कार्यान्वयनका लागि साउन ३ गते साँझ ७ बजेदेखि उक्त फिचर मेरो शेयरमा अपडेट हुनेछ ।

आर्थिक अध्यादेश २०७८ मार्फत आयकर ऐन, २०५८ को दफा ९५(क) मा संशोधन गरि “उपदफा २ को खण्ड (क) मा रहेका “बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको पाँच प्रतिशत” भन्ने शब्दहरूको सट्टा “बासिन्दा प्राकृतिक व्यक्तिको हकमा तिन सय पैँसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको पाँच प्रतिशत र तीन सय पैँसठ्ठी दिनभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको सात दशमलव पाँच प्रतिशत” भन्ने शब्दहरू राखिएकोले सोही अनुसार लाभकर गण्नाा गर्न यस्तो फिचर थप गरिएको हो ।

“लगानीकर्ताको स्वामित्वमा रहेको कुल धितोपत्रको लागतको भारित औसत गणना गरि सो विवरण प्रदान गर्ने विद्यमान व्यवस्थालाई परिमार्जन गरि धितोपत्रको लागतको भारित औसतका साथै आफ्नो हितग्राही खातामा मौज्दात रहेको समयावधि समेत गणना गरि विक्री गरेको धितोपत्र मध्ये ३६५ दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको धितोपत्र र सो भन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रको संख्या समेत खुलाई प्रदान गर्नुपर्ने व्यवस्था गरिएकोले सम्पूर्ण लगानीकर्ताहरूलाई सोही अनुसार गर्नुहुन अनुरोध गरिन्छ”, न्यौपानेले भने ।

मेरो शेयरको मोवाईल एप प्रयोग गर्ने लगानीकर्ताले प्लेस्टोर मार्फत मेरो शेयर एप अपडेट गरि उक्त सेवा प्रयोग गर्न सक्ने उनले बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।