नबिल बैंकको ऋणपत्रमा लगानी गर्नेलाई वार्षिक ८% ब्याजदर, आवेदन खुल्यो

0
Shares

नबिल बैंक लिमिटेड (NABIL) ले साउन १० गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ । बैंकले दीर्घकालीन लगानीको स्रोत जुटाउन ऋणपत्र उपकरणलाई प्रयोग गर्न लागेको हो ।

‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नाम दिइएको ७ वर्ष अवधि रहेको उक्त ऋणपत्र प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा बिक्रीमा आएको छ । ऋणपत्रमा लगानी गर्ने लगानीकर्तालाई वार्षिक ८ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी बैंकले उक्त ऋणपत्र निष्काशन गरेको हो ।

निजी क्षेत्रबाट सञ्चालित बैंकले बिक्रीमा ल्याउने कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ११ लाख ४० हजार कित्ता सर्वसाधारणमा बिक्री हुनेछ ।

ऋणपत्रमा लगानी गर्न इच्छुक लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङको मेरो शेयर सफ्टवेयर तथा मोबाइल एप, नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सी आस्बाको माध्यमबाट आवेदन गर्न सक्नेछन् ।

ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गरी छिटोमा साउन १३ गतेसम्म र सो अवधिमा सबै इकाई ऋणपत्र बिक्री नभएमा ढिलोमा साउन २४ गतेसम्म आवेदन दिन पाइनेछ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा ‘इक्राएनपी आईआर डबल ए माइनस’ रेटिङ्ग प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित तथा न्यून कर्जा जोखिम रहेको जनाउँछ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।