नेप्से सूचकमा बन्यो ऐतिहासिक रेकर्ड, ३१११ को अलटाइम हाइ बिन्दुमा

0
Shares


शेयर बजार मापक सूचक नेप्सेले हालसम्मकै उच्च बिन्दु कायम गरेको छ । मंगलबार नेप्से दोहोरो अंकले बढेर ३१११.०९ बिन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च अंक हो ।

यसभन्दा अघि साउन १३ गते बुधबार नेप्से ३०९४.९४ बिन्दुको रेकर्ड कायम रहेको थियो । जलविद्युत र लघुवित्त कम्पनीहरुको शेयरमा उच्च आकर्षण देखिँदा बजार सूचक उच्चतम बिन्दुमा पुगेको हो ।

मंगलबार ११ अर्ब ५२ करोड बढीको शेयर कारोबारमा आएको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अघिकारीले इकोनोमिक मिडिया सोसाइटीसँगको भेटमा सोमबार यसै साता मौद्रिक नीति सार्वजनिक हुने बताएका थिए । अर्कोतर्फ सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको उत्कृष्ट प्रगति सहितको वित्तीय विवरण गरेको धमाधम सार्वजनिक गरिरहेका छन् । सूचीकृत कम्पनीको नाफा बढ्नु र मौद्रक नीति बजारमैत्री आउने विश्वास ले बजारलाई चलायमान बनाएको हो ।

लगानीकर्ताहरुले वित्तीय विवरणमा आधारित भएर लाभांशमा आधारित लगानी गर्न थालेका छन् भने आधा दर्जन म्युचुअल फण्डहरुले इकाइधनीलाई आकर्षक प्रतिफल घोषणा गरिसकेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक २६.०२ अंकले बढेर ३१११.०९ बिन्दुमा पुगेको हो । सेन्सेटिभ परिसूचकपनि ५.०६ अंकले बढेर ५७७.५२ बिन्दुमा पुगेको छ । आजको बजारमा कूल २२३ वटा कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

मंगलबार  पाँचथर पावर र रूरू जलविद्युत परियोजनाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी र स्वावलम्बन लघुवित्त गरी पाँच कम्पनीको शेयरमूल्य पनि सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ ।

यसदिन युनिलिभर नेपाल लिमिटेड कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ३.७९ प्रतिशतले घटेको छ भने नबिल ब्यालेन्स्ड फण्ड र एनआईबिएल प्रगति फण्डको इकाईमूल्य पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज अपि पावरको सबैभन्दा धेरै ४६.४२ करोडको शेयर खरीद बिक्री हुँदा ङादी ग्रुप पावर ४३.३२ करोड, फस्ट माइक्रोफाइनान्स ३३.८६ करोड, र स्वावलम्बन लघुवित्तको ३० कराड बढीको शेयर कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।