एचआईडिसीएलको हकप्रद शेयरमा आवेदन दिने म्याद १५ दिन थप

0
Shares

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले हकप्रद शेयरमा आवेदन दिने म्याद १५ दिन थप गरेको छ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलका अनुसार निष्काशन कम्पिनीको साउन २१ गतेको बैठकले कोभिड-१९ महामारीको असहज परिस्थिति र प्राप्त आवेदनका आधारमा म्याद थप्न अनुरोध भएअनुसार धितोपत्र निष्काशन तथा दर्ता नियमावली २०७३ को नियम १८ को उपनियमन २ अनुसार समय थपिएको हो ।

साउन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा साउन २५ गते अन्तिम म्याद रहेकोमा अब भने लगानीकर्ताले भदौ ८ गतेसम्म आवेदन दिने सक्नेछन् ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद बिक्री गरिरहेको छ । हकप्रद निष्काशनका जेठ २८ गते बुकक्लोज गरिएको थियो। यसअनुसार जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र यस हकप्रदमा आवेदन दिन पाउँछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन् ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिङ्गल ए माइनस आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्वको नियमित भुक्तानीको पर्याप्त सुनिश्चितता रहने र न्यून क्रेडिट जोखिममा रहेको संकेत गर्दछ।

हाल ११ अर्ब रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशन तथा बाँडफाँटपछि २२ अर्ब रुपैयाँ पुग्नेछ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।