सुदूरपश्चिममा रोजगारी वृद्धि गर्न कर्जा परिचालन बढाउनुपर्नेः राष्ट्र बैंक

सुदूरपश्चिममा रोजगारी वृद्धि गर्न कर्जा परिचालन बढाउनुपर्नेः राष्ट्र बैंक

सुदूरपश्चिम प्रदेशमा रोजगारी बढाउन कर्जा विस्तार मार्फत आर्थिक गतिविधि विस्तार गर्नुपर्ने एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकको धनगढी कार्यलयको अध्ययन अनुसार सुदुरपश्चिम प्रदेशमा कर्जा विस्तार, कृषिमा आधुनिकिकरण र जडिवुटी प्रशोधन उद्योग स्थापना गरी आर्थिक गतिविधि बढाउन सकिने सुझाएको हो ।

सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रको मेरुदण्डको रुपमा कृषि क्षेत्र रहेको छ । त्यसैले पनि कृषिको व्यावसायिकरण, आधुनिकीकरण र यान्त्रिकीकरण मार्फत कृषि उत्पादन विस्तार गर्नुपर्ने आवश्यकता अध्ययनले औल्याएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा फलफूल तथा पशुजन्य उत्पादन प्रवद्र्धन एवं हिमाली क्षेत्रमा जडिबुटी प्रशोधन उद्योगहरु स्थापना गरेर यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार यस प्रदेशमा कर्णाली, महाकाली, सेती, चमेलिया, बुढीगंगा लगायतका नदीहरु रहेकाले प्रशस्त मात्रामा सिँचाईको व्यवस्था गर्न सकिने अवस्था रहेको देखिन्छ । त्यती मात्र नभई जलविद्युत उत्पादन गरेर निर्यात समेत गर्न सकिने अवस्था रहेको छ ।

भारतको सबैभन्दा बढी जनसंख्या भएको उत्तर प्रदेश र भारतको राजधानी नयाँ दिल्ली यहाँबाट नजिकै पर्ने भएकाले स्थानीय रुपमा उपलब्ध हुने कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरी तुलनात्मक लाभका वस्तुहरु उत्पादन गरी निर्यात समेत बढाउन सकिने सम्भावना रहेको छ । पर्यटकीय दृष्टिकोणबाट पनि सुदुर पश्चिम प्रदेशमा त्यतिकै सम्भावना रहेको अध्ययनले देखाएको छ ।

यस प्रदेशको चुनौतिको रुपमा गरिवी, खाद्य सुरक्षा, वित्तीय पहुँचको कमजोर अवस्था, न्यून निक्षेप संकलन तथा कर्जा परिचालन, उच्च उत्पादन लागत, दक्ष जनशक्तिको अभाव रहेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ । त्यसैगरी राजस्व संकलन गर्ने क्षमता न्यून रहेको अवस्थामा प्रदेशको स्रोत साधनको उपलव्धता बीचको खाडल पूर्ति गर्ने जटील रहेको अवस्था छ । त्यसैगरी स्थानीय र प्रदेश सरकारको संस्थागत, प्राविधिक र स्रोत परिचालन क्षमता वृद्धि गर्ने तथा पूर्वाधार निर्माणका लागि आवश्यक स्रोतको व्यवस्था गर्ने समेत यस प्रदेशमा चुनौतिपूर्ण रहेको अध्ययनले देखाएको छ ।

सुदूरपश्चिम प्रदेशमा जनसंख्याको अनुपातमा कर्जा लगानी न्यून रहेकाले कर्जा परिचालनमा वृद्धि मार्फत् आर्थिक गतिविधि बढाई रोजगारीका अवसरहरु सिर्जना गर्न सकिने अध्ययनले देखाएको छ । तरकारी विकास कार्यक्रम सञ्चालन गरी प्रदेशलाई तरकारीमा आत्मनिर्भर बनाउन सकिने समेत अध्ययनको सुझाव रहेको छ । दार्चुला, बझाङ र बाजुरा जिल्लाका स्याउ उत्पादक किसानहरुको उत्पादित स्याउको बजारीकरण तथा लघु प्रशोधन केन्द्र स्थापना मार्फत् स्याउ उत्पादनमा प्रोत्साहित किसानको आय आर्जन बढाउन सकिने समेत अध्ययनले देखाएको छ ।

सुदूरपश्चिम प्रदेशमा पाइने उच्च मूल्यका जडिवुटीहरुको प्रशोधनका लागि सार्वजनिक निजी साझेदारी मोडेलमा जडिवुटी प्रशोधन केन्द्र स्थापना मार्फत् राजस्व वृद्धि तथा जनताको जीवनस्तरमा सुधार ल्याउन सकिने सम्भावना रहेको अध्ययनले देखाएको छ केन्द्रीय बैंकको अध्ययनले गत आर्थिक वर्षको पुससम्ममा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसलाले ढाकेको भू–क्षेत्र ०.२९ प्रतिशतले वृद्धि भएको छ देखाएको छ । यस्ता बालीको उत्पादन समेत ५.३० प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । प्रमुख खाद्य तथा अन्य बालीमध्ये सवैभन्दा बढी उखुको उत्पादनमा ८.८८ प्रतिशतले वृद्धि भएको छ भने दलहन उत्पादनमा ०.५० प्रतिशतले ह्रास आएको छ । त्यसैगरी, गत आवको सो अवधिमा तरकारी उत्पादन २.३८ प्रतिशतले बढेको केन्द्रीय बैंकको अध्ययनको निष्कर्ष रहेको छ ।

यस प्रदेशमा पशुजन्य उत्पादन अन्तर्गत दूध १.१४ प्रतिशत, मासु २.० प्रतिशत र अण्डा ०.४७ प्रतिशतले बढेको अध्ययनले देखाएको छ । गत आवको पुससम्ममा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले १०.४५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् ।

केन्द्रीय बैंकको अध्ययन अनुसार गत आवको पुसम्ममा सुदूरपश्चिम प्रदेशको उद्योगको औषत क्षमता उपयोग ४९.३९ प्रतिशत रहेको छ । औद्योगिक उत्पादनमध्ये आव २०७७/०७८ को अर्ध–वार्षिक अवधिमा गत आवको सोही अवधिको तुलनामा साबुन, गहुँको पिठो, प्रशोधित दुध, चामल तथा इँटा उत्पादन गर्ने उद्योगको क्षमता उपयोग बढेको छ भने अन्यको क्षमता उपयोगमा ह्रास आएको छ ।

बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको २१.७१ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

त्यसैगरी गत आवको पुसम्ममा सुदूरपश्चिमको समीक्षा अवधिमा यस प्रदेशमा पर्यटक स्तरीय होटल तथा लज संख्यामा कुनै परिवर्तन आएको छैन भने शैया संख्या ४.५६ प्रतिशतले बढेको छ । सो अवधिसम्ममा सुदूरपश्चिममा घरजग्गा रजिष्ट्रेशन संख्या १०.४६ प्रतिशत र रजिष्ट्रेशन वापतको राजस्व ३६.५० प्रतिशतले वृद्धि भएको छ ।

बैंक तथा वित्तीय संस्थाले आ.व.२०७७/०७८ को पुस मसान्तसम्म यस प्रदेशबाट गरेको निक्षेप परिचालन २०७७ असार मसान्तको तुलनामा ९.४१ प्रतिशतले र कर्जा २४.९६ प्रतिशतले वृद्धि भएको छ । गत आवको पुससम्ममा यातायात साधन संख्या १३.०७ प्रतिशतले वृद्धि भएको छ ।

।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २५ साउन २०७८, सोमबार १८ : ३० बजे