मर्जरमा रहेका दुई वाणिज्य बैंकको वितरण योग्य नाफा ४ अर्ब १६ करोड

0
Shares

एक आपसमा मर्जरको प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नाफा बढेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

दुवै बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी घटेपनि अन्य आयहरुमा भएको सुधारले नाफा बढाएका हुन् । इन्भेष्टमेन्ट बैंकको इम्पेरमेन्ट चार्ज घटेको छ भने हिमालयन बैंकले अन्य संचालन आम्दानी बढाएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म इन्भेष्टेमन्ट बैंकले ३ अर्ब ६५ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.६९ प्रतिशत बढी हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ रहेको छ।

असार मसान्तसम्ममा हिमालयन बैंकले बैंकले २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.९० प्रतिशत बढी हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १६ करोड ९८ लाख रुपैयाँ रहेको छ। दुई बैंकको वितरण योग्य नाफा ४ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

इन्भेष्टमेन्ट बैंकको सञ्चालन मुनाफा ४९.५० प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँबाट घटेर ३७ करोड ७९ लाख रुपैयाँमा झरेको छ। जसले गर्दा नाफा वृद्धिमा सघाउ पुगेको देखिन्छ ।

इन्भेष्टमेन्ट बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४५ पैसा बढेर २२ रुपैयाँ ४६ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ४८ पैसा रहेको छ।

हिमालयन बैंकको प्रतिशेयर आम्दानी ४६ पैसा बढेर २८ रुपैयाँ ६ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ९४ पैसा रहेको छ।

समीक्षा अवधिमा इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १४.०९ प्रतिशत बढेर १६ अर्ब २५ करोड पुगेको छ । बैंकको निक्षेप १ खर्ब ७४ अर्ब रुपैयाँ तथा कर्जा लगानी १ खर्ब ५६ अर्ब रुपैयाँ छ । बैंकको निक्षेप ४.९३ प्रतिशत र कर्जा १६.१५ प्रतिशत बढेको हो ।

यता हिमालयन बैंकको चुक्तापूँजी १० अर्ब ६८ करोड रुपैयाँ छ । । बैंकको निक्षेप १ खर्ब ४१ अर्ब रुपैयाँ तथा कर्जा लगानी १ खर्ब २६ अर्ब रुपैयाँ छ । बैंकको निक्षेप १२.५८ प्रतिशत र कर्जा २३.८९ प्रतिशत बढेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।